काठमाण्डौ । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास बिक्री गर्दा अनिवार्य रूपमा भ्याट बिल जारी गर्न ग्यास उद्योगहरूलाई निर्देशन दिएको छ।
उद्योगबाट नियुक्त कतिपय बिक्रेताले ग्राहक तथा डिलरलाई बिल नदिएको गुनासो बढेपछि निगमले यस्तो कडाइ गरेको हो।
निगमको एलपी ग्यास तथा एभिएसन विभागले सबै ग्यास उद्योगलाई पत्र पठाउँदै बिक्रेतामार्फत हुने ग्यास बिक्रीमा अनिवार्य भ्याट बिल जारी हुने व्यवस्था मिलाउन भनेको छ।
निगमका अनुसार ग्यास बिक्रीपछि बिल–बिजक जारी नगर्ने प्रवृत्तिबारे पटक–पटक गुनासो आएको छ। यसअघि पनि सम्बन्धित संघसंस्थालाई निर्णय कार्यान्वयनका लागि पत्राचार गरिएको निगमले जनाएको छ।
बजारमा ग्यास कारोबार पारदर्शी बनाउने, कर प्रणाली व्यवस्थित गर्ने र राजस्व चुहावट नियन्त्रण गर्ने उद्देश्यले भ्याट बिल अनिवार्य गर्न निर्देशन दिइएको हो।
निगमले सबै ग्यास उद्योगलाई आफ्ना अधिकृत बिक्रेता तथा डिलरमार्फत हुने बिक्रीमा बिल जारी भएको सुनिश्चित गर्नसमेत सचेत गराएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।