काठमाडौं । अमेरिकी प्रविधि कम्पनी माइक्रोसफ्टले कृत्रिम बुद्धिमत्ता (एआई) पूर्वाधारमा बढ्दो लगानी र खर्च व्यवस्थापनलाई ध्यानमा राख्दै करिब ६० हजार कर्मचारीलाई स्वैच्छिक अवकाशको प्रस्ताव गरेको छ ।
कम्पनीले सोमबार अमेरिका, क्यानडा, भारत र बेलायतमा कार्यरत निश्चित तहसम्मका कर्मचारीलाई लक्षित गरी स्वैच्छिक रूपमा कम्पनी छाड्न सक्ने योजना सार्वजनिक गरेको हो । यो प्रस्ताव कम्पनीको ७० वा सोभन्दा कम तहमा रहेका कर्मचारीका लागि लागू हुनेछ ।
यस विषयमा जानकार एक व्यक्तिका अनुसार करिब ६० हजार कर्मचारी यो योजनामा सहभागी हुन योग्य छन् । यो संख्या माइक्रोसफ्टका कुल २ लाख २३ हजार कर्मचारीको करिब २७ प्रतिशत हो ।
एआई कम्प्युटिङको बढ्दो माग पूरा गर्न माइक्रोसफ्टले डेटा सेन्टरमा ठूलो लगानी गरिरहेको छ । कम्पनीले एन्थ्रोपिक, ओपनएआईलगायत विभिन्न प्रविधि कम्पनीलाई क्लाउड सेवा उपलब्ध गराउँदै आएको छ ।
माइक्रोसफ्टले गत जुलाईमा सन् २०२६ को सेप्टेम्बरमा समाप्त हुने त्रैमासिक अवधिमा पुँजीगत खर्च ५० अर्ब अमेरिकी डलरभन्दा बढी हुने अनुमान सार्वजनिक गरेको थियो । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत खर्च र वित्तीय लिजमा भएको खर्च ३४ अर्ब ९० करोड डलर थियो ।
एआई पूर्वाधारमा बढ्दो खर्चले कम्पनीको वित्तीय व्यवस्थापनमा दबाब सिर्जना गरेको छ । यसअघि माइक्रोसफ्टले गत अप्रिलमा पहिलोपटक स्वैच्छिक अवकाश कार्यक्रम घोषणा गरेको थियो, जसमा अमेरिकामा कार्यरत करिब ७ प्रतिशत कर्मचारी सहभागी हुन योग्य थिए । त्यसपछि गत जुलाईमा कम्पनीले ४ हजार ८ सय कर्मचारी कटौती गर्ने योजना सार्वजनिक गरेको थियो ।
माइक्रोसफ्टकी कार्यकारी उपाध्यक्ष तथा प्रमुख मानव संसाधन अधिकारी एमी कोलम्यानले कर्मचारीलाई पठाएको आन्तरिक सन्देशमा स्वैच्छिक अवकाश प्रस्तावले कम्पनीमा परिवर्तन व्यवस्थापन गर्ने दृष्टिकोणलाई थप लचिलो बनाउने बताएकी छन् ।
माइक्रोसफ्ट अहिले आफ्नो व्यावसायिक मोडेल रूपान्तरण गर्ने प्रक्रियामा छ । कम्पनीले ग्राहकले वास्तवमा जति एआई प्रयोग गर्छन्, त्यसैका आधारमा शुल्क लिने प्रणालीतर्फ जोड दिइरहेको छ ।
यसका लागि कम्पनीले प्रोग्रामर, बिक्रीकर्मी र आपूर्ति शृङ्खलामा काम गर्ने कर्मचारीलाई एआई उपकरण उपलब्ध गराएको छ । ती उपकरणको प्रयोगबाट उल्लेखनीय परिणाम देखिएको कम्पनीको भनाइ छ । साथै, ५१ वर्ष पुरानो विन्डोज र अफिस सफ्टवेयर निर्माता माइक्रोसफ्टले नयाँ र प्रभावकारी व्यावसायिक अवसरको उपयोग गर्न आवश्यक दक्ष जनशक्ति सुनिश्चित गर्न खोजिरहेको छ ।
कम्पनीको उद्देश्य आफ्नो वित्तीय अवस्थालाई कमजोर नबनाई व्यावसायिक रूपान्तरणलाई अघि बढाउनु हो । दोस्रो त्रैमासिकमा प्रतिस्पर्धी कम्पनी अल्फाबेट र अमेजनले नकारात्मक खुद स्वतन्त्र नगद प्रवाह (फ्री क्यास फ्लो) रिपोर्ट गरेका थिए । तर माइक्रोसफ्टले सोही अवधिमा १९ अर्ब ६४ करोड डलरको सकारात्मक स्वतन्त्र नगद प्रवाह कायम गरेको थियो । यद्यपि, यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा २३ प्रतिशत कम हो ।
यस विषयमा जानकार व्यक्तिका अनुसार माइक्रोसफ्टका केही बजार प्रवर्द्धन, बिक्री तथा इन्जिनियरिङ टोलीले नयाँ स्वैच्छिक अवकाश योजनामा सहभागी नहुने निर्णय गरेका छन् ।
कर्मचारीले डिसेम्बरको सुरुसम्ममा प्रस्ताव स्वीकार गर्ने वा नगर्ने निर्णय गरिसक्नुपर्नेछ । माइक्रोसफ्टले गत जुलाईमा सार्वजनिक गरेको विवरणअनुसार, यसअघि सञ्चालन गरिएको स्वैच्छिक अवकाश कार्यक्रममा सहभागी हुन योग्य कर्मचारीमध्ये ३० प्रतिशतभन्दा बढीले कम्पनी छाड्ने निर्णय गरेका थिए ।
तर, अघिल्लो कार्यक्रम वरिष्ठ निर्देशक तह ६७ वा सोभन्दा तलका कर्मचारीमा सीमित थियो । नयाँ योजनाले भने उपाध्यक्ष तहसम्मका कर्मचारीलाई समेट्ने ती व्यक्तिले बताएका छन् । यसपटक कम्पनीले कति कर्मचारीलाई स्वैच्छिक रूपमा बाहिर पठाउने भन्ने निश्चित लक्ष्य तय नगरेको पनि उनले जानकारी दिएका छन् ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।