काठमाडौं। मध्यपूर्वमा जारी द्वन्द्व अन्त्य गर्न कूटनीतिक प्रयास पुनः तीव्र बनेपछि विश्व बजारमा तेलको मूल्य घटेको छ। अमेरिका र इरानबीचको युद्ध अन्त्य हुने तथा क्षेत्रीय द्वन्द्व मत्थर हुने सम्भावना बढेसँगै आपूर्तिमा अवरोध आउने चिन्ता कम हुँदा मंगलबार तेलको मूल्यमा गिरावट आएको हो।
अन्तर्राष्ट्रिय बजारमा डिसेम्बरमा आपूर्ति हुने ब्रेन्ट कच्चा तेलको मूल्य ०.८७ प्रतिशतले घटेर प्रतिब्यारेल ११४.८० अमेरिकी डलरमा झरेको छ। त्यस्तै, अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्यूटीआई) कच्चा तेलको जुन महिनाको वायदा मूल्य ०.८६ प्रतिशतले घटेर प्रतिब्यारेल १००.८८ डलर कायम भएको छ।
सोमबार साउदी अरब, टर्की, पाकिस्तान र इरानी अधिकारीहरूबीच तेहरानमा वार्ता भएपछि तेलको मूल्यमा गिरावट आएको हो। चारै देशले मध्यपूर्वमा बढ्दो तनाव कम गर्न कूटनीतिक प्रयासलाई तीव्र बनाएका छन्।
साउदी अरबले उक्त छलफल कूटनीतिक संवादका माध्यम खुला राख्न र द्वन्द्व थप चर्किन नदिन केन्द्रित रहेको जनाएको छ। इरानी सरकारी सञ्चारमाध्यमका अनुसार चारै देशले क्षेत्रीय शान्ति र सुरक्षाका लागि सहकार्यलाई निरन्तरता दिने सहमति गरेका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।