काठमाण्डौ । सम्भावित वर्षाका कारण पाकिसकेको धानबालीमा क्षति हुनसक्ने भन्दै कृषि विकास कार्यालय धादिङले कृषकलाई कात्तिक १५ गतेपछि मात्र धान काट्न आग्रह गरेको छ।
कार्यालयले जारी गरेको ‘धानबाली काट्ने तथा भित्र्याउने सम्बन्धी’ सूचनामा कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा हल्कादेखि भारी वर्षाको सम्भावना रहेको उल्लेख गर्दै अहिले नै धान काट्दा भिज्ने, कुहिने वा उत्पादनमा क्षति पुग्न सक्ने चेतावनी दिएको छ।
कार्यालयका अनुसार पाकिसकेको र काट्नैपर्ने अवस्थामा रहेको धान भने सम्भव भएसम्म आजै सुरक्षित रूपमा भित्र्याइसक्न उचित हुनेछ। तत्काल भित्र्याउन नसकिने अवस्था भए मौसम सुधार नहुँदासम्म धान नकटाई खेतमै राख्न सुझाव दिइएको छ।
त्यस्तै, अझै पूर्ण रूपमा नपाकेको धान भएको खेतमा पानी जम्न नदिन कुलो वा नाली खोलेर निकासको व्यवस्था गर्न कृषकलाई आग्रह गरिएको छ।
हावाहुरी वा वर्षाका कारण धान ढलेको अवस्थामा बाला पानीमा डुबेर बिग्रन सक्ने भएकाले मुठो पारेर ठड्याउने वा सम्भव भए अग्लो भागमा राख्ने उपाय अपनाउन कार्यालयले सुझाएको छ।
धान काट्ने समयमै वर्षा भएमा उत्पादनको गुणस्तर, तौल र भण्डारण क्षमतामा समेत असर पर्न सक्ने भएकाले मौसम पूर्वानुमान हेरेर मात्र कटानी र भित्र्याउने काम गर्न कृषि विकास कार्यालयले कृषकलाई सचेत गराएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।