काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ मा चितवन राइनोजले विराटनगर किङ्समाथि ८ रनको रोमाञ्चक जित निकालेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९ ओभर ३ बलमा १४९ रनमै समेटियो।
चितवनको जितका नायक बने कमलसिंह ऐरी। उनले ४ ओभरमा २६ रन खर्चेर ४ विकेट लिए। विशेषगरी १८औं ओभरमा लगातार दुई विकेट लिएर उनले खेलको दिशा नै चितवनतर्फ मोडे।
त्यतिबेला विराटनगरलाई जितका लागि १८ बलमा मात्र २१ रन चाहिएको थियो। तर कमलले रुपेश सिंह र प्रतिश जीसीलाई रन जोड्न नदिई लगातार पभेलियन फर्काएपछि विराटनगर दबाबमा परेको थियो।
त्यसपछि १९औं ओभरमा रिजन ढकालले थप दुई विकेट लिएर चितवनको जित लगभग सुनिश्चित गरे।
विराटनगरका लागि आन्द्रे रसेलले आक्रामक ब्याटिङ गर्दै खेललाई रोमाञ्चक मोडमा पुर्याएका थिए। उनले १७ बलमा १ चौका र ४ छक्कासहित ३३ रन बनाए।
ओपनर इम्रान शेखले सर्वाधिक ३९ रन जोडे भने लोकेश बमले १४ बलमा २६ रन बनाए। बसिर अहमदले १३, एन्जेलो म्याथ्युजले १४ र शुभम रञ्जानेले १० रन जोडे।
चितवनका कमलसिंह ऐरीबाहेक रञ्जित कुमार, मौसम ढकाल, टम टेलर र डान मोस्लीले पनि एक–एक विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १५७ रन बनाएको थियो।
चितवनका लागि डाविड मलानले शानदार ब्याटिङ गर्दै ५१ बलमा ७० रन बनाए। उनले देव खनालसँग पहिलो विकेटका लागि ५८ रनको साझेदारी गरेका थिए।
देव खनाल १२ रनमा आउट हुँदा अर्जुन साउद ३ रनमै पभेलियन फर्किएका थिए।
मलान आउट भएपछि चितवनको इनिङ्स रवि बोपारा र डान मोस्लीले सम्हाले। यी दुईले चौथो विकेटका लागि ६७ रनको अविजित साझेदारी गरे। बोपारा ३२ र मोस्ली २९ रनमा नटआउट रहे।
जितसँगै चितवनले एनपीएल सिजन–३ मा सुखद सुरुवात गरेको छ भने विराटनगरले जितको नजिक पुगेर पनि अन्तिम तीन ओभर सम्हाल्न नसक्दा खेल गुमाएको छ।
आजको दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्स आमनेसामने हुनेछन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।