काठमाण्डौ । सम्भावित भारी वर्षासँगै बाढी पहिरो र डुबानको जोखिम बढेपछि सरकारले सातै प्रदेशको स्वास्थ्य संयन्त्रलाई उच्च सतर्कतामा रहन निर्देशन दिएको छ।
जल तथा मौसम विज्ञान विभाग तथा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कात्तिक १२ देखि १४ गतेसम्म देशका विभिन्न स्थानमा चट्याङ र हावाहुरीसहित मध्यमदेखि भारी वर्षा हुन सक्ने पूर्वानुमान गरेपछि स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाईले स्वास्थ्य क्षेत्रको पूर्वतयारी तीव्र बनाउन भनेको हो।
इकाईले सातै प्रदेशका प्रादेशिक स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रलाई पत्राचार गर्दै विपद्का बेला तत्काल स्वास्थ्य सेवा उपलब्ध गराउन आवश्यक जनशक्ति औषधि उपकरण एम्बुलेन्स तथा अन्य स्रोतसाधन तयारी अवस्थामा राख्न निर्देशन दिएको छ।
इकाई प्रमुख डा. हेमन्त चन्द्र ओझाद्वारा जारी पत्रमा प्रत्येक प्रदेशमा २४सै घण्टा सम्पर्कमा रहने आपतकालीन सम्पर्क व्यक्ति तोक्न र निजको सम्पर्क विवरण सार्वजनिक गर्न भनिएको छ।
सम्बन्धित हब तथा स्याटेलाइट अस्पतालसँग समन्वय गरी आकस्मिक चिकित्सकीय टोली अर्थात् ईएमटीसहित आवश्यक स्वास्थ्य जनशक्तिलाई समेत तयारी अवस्थामा राख्न निर्देशन दिइएको छ।
त्यस्तै स्वास्थ्य क्षेत्रका साझेदार निकायसँग समन्वय गरी औषधि स्वास्थ्य सामग्री उपकरण एम्बुलेन्स तथा उपलब्ध स्रोतसाधनको अवस्था तत्काल अद्यावधिक गर्न भनिएको छ।
बाढी पहिरो वा डुबानबाट घाइते तथा प्रभावित नागरिकलाई समयमै अस्पताल पुर्याउन प्रदेशस्थित एम्बुलेन्स प्रेषण केन्द्रसँग निरन्तर समन्वय गरी एम्बुलेन्सको शीघ्र परिचालन सुनिश्चित गर्नुपर्ने पत्रमा उल्लेख छ।
इकाईले विपद्सँग सम्बन्धित स्वास्थ्य अवस्थाको विवरण प्रत्येक दिन ‘जिरो रिपोर्टिङ’ वा ‘इन्सिडेन्ट रिपोर्टिङ’मार्फत अनिवार्य पठाउन पनि निर्देशन दिएको छ।
सम्भावित विपद्का बेला स्वास्थ्य सेवा अवरुद्ध हुन नदिन तथा प्रभावित क्षेत्रमा तत्काल चिकित्सकीय टोली र आवश्यक सामग्री परिचालन गर्न स्वास्थ्य क्षेत्रलाई पूर्वतयारी अवस्थामा राखिएको हो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।