काठमाडौं । हजारौँ कर्मचारीलाई स्वैच्छिक अवकाश दिने योजना सार्वजनिक गरेको केही दिनमै प्रविधि कम्पनी माइक्रोसफ्टले ३६ अर्ब ६० करोड डलरभन्दा बढी खुद नाफा कमाएको छ।
कम्पनीका अनुसार सेप्टेम्बर मसान्तसम्मको तीन महिनामा आम्दानी अघिल्लो वर्षको सोही अवधिको तुलनामा १९ प्रतिशतले बढेर ९२ अर्ब ३० करोड डलर पुगेको छ। क्लाउड कम्प्युटिङ व्यवसायमा भएको वृद्धिले आम्दानी बढाउन योगदान दिएको हो। यस अवधिमा माइक्रोसफ्ट क्लाउडको आम्दानी ३० प्रतिशतले बढेको छ।
माइक्रोसफ्टले सोमबार लागत घटाउन करिब ६० हजार कर्मचारीलाई स्वैच्छिक अवकाशको प्रस्ताव गर्ने जनाएको थियो। क्यानडा, भारत, बेलायत र अमेरिकाका योग्य कर्मचारीलाई लक्षित गरिएको योजनाले बदलिँदो व्यावसायिक आवश्यकताअनुसार कर्मचारी संरचना समायोजन गर्ने कम्पनीको भनाइ छ।
एआई प्रविधिमा अर्बौँ डलर लगानी गरिरहेको माइक्रोसफ्टले यस क्षेत्रमा हुने ठूलो खर्चले वित्तीय अवस्थामा पार्न सक्ने जोखिम पनि औँल्याएको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत सत्य नाडेलाले एआईले विभिन्न उद्योगमा वास्तविक प्रभाव देखाउन थालेको बताएका छन्।
माइक्रोसफ्टको सेयर मूल्य बुधबार बजारपछिको कारोबारमा करिब २.९ प्रतिशतले बढेको थियो। यसको विपरीत, गुगलको मातृ कम्पनी अल्फाबेटको त्रैमासिक खुद नाफा अघिल्लो वर्षको तुलनामा २५ प्रतिशतले घटेपछि सेयर मूल्य ९.७५ प्रतिशतले झरेको थियो।
अमेजन, मेटा र अल्फाबेटजस्ता ठूला प्रविधि कम्पनीहरूले यस वर्ष एआई चिप्स तथा डाटा सेन्टरजस्ता पूर्वाधारमा ७०० अर्ब डलरभन्दा बढी खर्च गर्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।