काठमाण्डौ । शक्तिशाली चक्रवात ‘अर्नब’ले भारतको पूर्वी तटीय क्षेत्रमा व्यापक क्षति पुर्याएको छ। चक्रवातका कारण आन्ध्र प्रदेशमा कम्तीमा ७ जनाको मृत्यु भएको छ भने १ लाख ८० हजारभन्दा बढी मानिसलाई जोखिमयुक्त क्षेत्रबाट सुरक्षित स्थानमा सारिएको छ।
चक्रवातले घर, सडक, विद्युत् संरचना र कृषि बालीमा ठूलो क्षति पुर्याएको भारतीय अधिकारीहरूले बताएका छन्।
बुधबार बिहान भारतको पूर्वी तटीय क्षेत्रमा प्रवेश गरेको चक्रवात सुरुमा अति शक्तिशाली अवस्थामा रहेको थियो। स्थलभागतर्फ अघि बढ्दै जाँदा यसको शक्ति क्रमशः कमजोर बने पनि तीव्र हावा र भारी वर्षाको प्रभाव भने जारी रहेको भारतीय मौसम विज्ञान विभागले जनाएको छ।
आन्ध्र प्रदेशमा हावाको गति प्रतिघण्टा १३५ किलोमिटरसम्म पुगेको थियो।
चक्रवातले आन्ध्र प्रदेशका १४ तटीय जिल्लालाई नराम्ररी प्रभावित गरेको छ। तीव्र हावा र वर्षाका कारण घरहरू क्षतिग्रस्त भएका छन् भने सडक सञ्जाल, विद्युत् खम्बा र वितरण प्रणालीमा समेत ठूलो क्षति पुगेको छ।
आन्ध्र प्रदेशका मुख्यमन्त्री एन. चन्द्रबाबु नायडूले उद्धार, राहत र पुनःस्थापनाका लागि केन्द्र सरकारसँग तत्काल सहयोग मागेका छन्।
चक्रवातका कारण करिब ७९ हजार एकड क्षेत्रफलमा लगाइएको कृषि बाली प्रभावित भएको जनाइएको छ। कोनासीमा जिल्लामा केरा र नरिवलका बगैँचामा ठूलो क्षति पुगेको छ।
धेरै स्थानमा रुख र बिजुलीका खम्बा ढलेका कारण विद्युत् आपूर्ति अवरुद्ध भएको छ। विशाखापट्टनमका होचा क्षेत्रमा पानी जमेर बाढीको अवस्था सिर्जना भएको छ।
चक्रवात कमजोर हुँदै गए पनि आन्ध्र प्रदेशसँगै ओडिशा, पश्चिम बंगाललगायत आसपासका क्षेत्रमा भारी वर्षा र तीव्र हावाको जोखिम कायमै रहेको मौसम विभागले जनाएको छ।
सम्भावित विपद्लाई ध्यानमा राख्दै आन्ध्र प्रदेशका २० जिल्लामा २ हजारभन्दा बढी चक्रवात आश्रयस्थल तयार पारिएको छ। लाखौँ मानिसको मोबाइल फोनमा आपत्कालीन चेतावनी पठाइएको छ।
तटीय क्षेत्रका ३० हजारभन्दा बढी माछा मार्ने डुङ्गालाई सुरक्षित स्थानमा राखिएको छ भने प्रभावित क्षेत्रमा करिब १ हजार १०० स्वास्थ्य टोली परिचालन गरिएको छ।
चक्रवातका कारण रेल तथा हवाई सेवासमेत प्रभावित भएका छन्। आन्ध्र प्रदेशका तीन विमानस्थलमा केही समयका लागि उडान सेवा स्थगित गरिएको थियो भने केही रेल सेवा रद्द गरिएको छ।
विपद् व्यवस्थापन निकायका अनुसार चक्रवातको सम्भावित प्रभाव क्षेत्रमा करिब १ करोड २० लाख मानिस बसोबास गर्छन्। छिमेकी ओडिशामा पनि जोखिमयुक्त क्षेत्रका हजारौँ बासिन्दालाई सुरक्षित स्थानमा सार्ने तयारी गरिएको छ।
यसैबीच, चक्रवातसँग जोडिएको मौसमी प्रणालीको प्रभावका कारण नेपालमा पनि केही स्थानमा भारी वर्षा, मेघगर्जन र चट्याङको सम्भावना रहेको भन्दै सम्बन्धित निकायले सतर्कता अपनाउन आग्रह गरेका छन्। उच्च पहाडी तथा हिमाली क्षेत्रमा यात्रा गर्दा विशेष सावधानी अपनाउन र मौसमसम्बन्धी आधिकारिक सूचना नियमित हेर्न सुझाव दिइएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।