काठमाण्डौ । लामो समयदेखि विवादका कारण रोकिएको सूर्यविनायक–धुलिखेल सडक आयोजना अन्तर्गत बनेपा बजार क्षेत्रको निर्माण कार्य पुनः सुरु भएको छ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालका अनुसार सडकको सेन्टरलाइन र इन्टरसेक्सन अर्थात् चोकसम्बन्धी विवाद समाधान भएपछि निर्माण कार्य अघि बढाइएको हो। मन्त्रालयले पटक–पटक सहजीकरण गरेपछि अवरोध हटेको उनले बताएका छन्।
हाल निर्माणस्थलमा पुरानो सडक सतह हटाउने काम भइरहेको छ। बाँकी खण्डलाई सर्भिस लेनसहित चार लेनमा स्तरोन्नति गर्ने तयारी भइरहेको छ।
मन्त्री लम्सालले बनेपा बजार क्षेत्रको कालोपत्रे आगामी दुई महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको जानकारी दिए। बाँकी निर्माण कार्यलाई तीव्रता दिँदै यसै वर्षभित्र सडक निर्माण सम्पन्न गर्ने योजना रहेको उनले बताए।
साँगा–धुलिखेल सडकखण्डको सर्भिस लेनसहित कुल लम्बाइ ७.९ किलोमिटर रहेको छ। त्यसमध्ये ६.५ किलोमिटर खण्डमा कालोपत्रे सम्पन्न भइसकेको छ भने अब १.४ किलोमिटर सडक निर्माण बाँकी छ।
बाँकी खण्डलाई पनि सर्भिस लेनसहित चार लेनमा स्तरोन्नति गरिने मन्त्रालयले जनाएको छ।
लामो समयदेखि रोकिएको निर्माण कार्य पुनः सुरु भएसँगै बनेपा बजार क्षेत्रको यातायात व्यवस्थापन सहज हुने र सडक पूर्वाधारमा सुधार आउने अपेक्षा गरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।