काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफामा उल्लेख्य वृद्धि गरेको छ।
बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्म १ अर्ब १८ करोड १४ लाख २१ हजार रुपैयाँ खुद नाफा आर्जन भएको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो नाफा ४ करोड ५० लाख ५० हजार रुपैयाँ थियो। यस आधारमा बैंकको नाफा २५२२.४७ प्रतिशत बढेर अघिल्लो वर्षको २६.२२ गुणा पुगेको हो।
नाफामा देखिएको यो उछालको प्रमुख आधार कर्जा तथा अन्य सम्भावित नोक्सानीबापतको खर्चमा आएको ठूलो कमी हो। अघिल्लो वर्षको पहिलो त्रैमासमा २ अर्ब ८० करोड ४ लाख रुपैयाँ रहेको यस्तो इम्पेयरमेन्ट खर्च यसपटक १ अर्ब ९ करोड ७३ लाख रुपैयाँमा झरेको छ। यो खर्च ६०.८१ प्रतिशत अर्थात् करिब १ अर्ब ७० करोड ३० लाख रुपैयाँ घट्दा बैंकको नाफामा ठूलो सुधार आएको हो।
बैंकको मुख्य आम्दानीको स्रोत खुद ब्याज आम्दानीमा भने सामान्य वृद्धि भएको छ। अघिल्लो वर्षको पहिलो त्रैमासमा ३ अर्ब २४ करोड ३१ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी यसपटक ३ अर्ब २७ करोड १६ लाख रुपैयाँ पुगेको छ। यो वृद्धि ०.८८ प्रतिशत मात्रै हो। कुल ब्याज आम्दानी ११.०७ प्रतिशत घटे पनि ब्याज खर्च १८.६७ प्रतिशत घट्दा खुद ब्याज आम्दानीमा सामान्य सुधार सम्भव भएको देखिन्छ।
कुल सञ्चालन आम्दानी पनि ०.९० प्रतिशत मात्रै बढेर ४ अर्ब ३४ करोड ९४ लाख रुपैयाँ पुगेको छ। सञ्चालन खर्च भने १४.८१ प्रतिशत बढेर १ अर्ब ५६ करोड १३ लाख रुपैयाँ पुगेको छ। आम्दानीको वृद्धिभन्दा सञ्चालन खर्चको वृद्धि उच्च रहे पनि इम्पेयरमेन्ट खर्च घटेका कारण सञ्चालन नाफा १५ करोड २ लाख रुपैयाँबाट बढेर १ अर्ब ६९ करोड ७ लाख रुपैयाँ पुगेको छ।
नाफा बढेको यही अवधिमा बैंकको निष्क्रिय कर्जा अनुपात (एनपीएल) भने माथि गएको छ। अघिल्लो वर्षको पहिलो त्रैमासमा ६.६३ प्रतिशत रहेको कुल निष्क्रिय कर्जा अनुपात यसपटक ८.८७ प्रतिशत पुगेको छ।
सेयरधनीको प्रतिफलसँग प्रत्यक्ष सम्बन्ध राख्ने वितरणयोग्य नतिजामा पनि दुई फरक अवस्था देखिएका छन्। चालु पहिलो त्रैमासको मात्रै वितरणयोग्य घाटा ७ करोड ४० लाख ७७ हजार रुपैयाँ छ। अघिल्लो वर्ष यही त्रैमासमा यस्तो घाटा १ अर्ब ६६ करोड ७ लाख ९६ हजार रुपैयाँ थियो। त्रैमासिक वितरणयोग्य घाटा ९५.५४ प्रतिशत घट्नु सुधारको संकेत हो।
तर विगतको सञ्चित घाटासमेत जोड्दा असोज मसान्तसम्मको कुल वितरणयोग्य घाटा ५ अर्ब १६ करोड १६ लाख ३० हजार रुपैयाँ पुगेको छ। चालु आर्थिक वर्ष सुरु हुँदा यस्तो घाटा ५ अर्ब ८ करोड ७५ लाख रुपैयाँ थियो।
नाफामा भएको वृद्धिसँगै वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी ०.५३ रुपैयाँबाट बढेर १३.८५ रुपैयाँ पुगेको छ। प्रतिसेयर नेटवर्थ पनि १९५.८९ रुपैयाँबाट बढेर २००.८८ रुपैयाँ पुगेको छ। तर पूँजीकोष अनुपात १३.४८ प्रतिशतबाट घटेर १२.१७ प्रतिशत र प्राथमिक पूँजीकोष अनुपात १०.५५ प्रतिशतबाट घटेर ९.४२ प्रतिशतमा आएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।