काठमाण्डौ । धनुषाका गौरीशंकर पण्डितले ४१५ रुपैयाँको तोरीको तेल खरिद गर्दा १० लाख रुपैयाँ पुरस्कार जितेका छन्।
धनुषाको नगराइन नगरपालिका–९ घोरघास घर भई हाल ललितपुरमा बस्दै आएका पण्डितले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत १० लाख रुपैयाँ जितेका हुन्।
पण्डितले कात्तिक ५ गते ललितपुरको धापाखेलस्थित बिगमार्टबाट ४१५ रुपैयाँको तोरीको तेल खरिद गरेका थिए। उनले उक्त रकम ई–सेवामार्फत भुक्तानी गरेका थिए।
आन्तरिक राजस्व विभागले आइतबार विजेताको नाम सार्वजनिक गर्दा पण्डित १० लाख रुपैयाँ पुरस्कारका लागि छनोट भएका हुन्।
पुरस्कार जितेपछि पण्डितले आफू अत्यन्त खुसी भएको प्रतिक्रिया दिएका छन्। उनले सामान खरिद गर्दा अनिवार्य रूपमा बिल लिन सबै उपभोक्तालाई आग्रहसमेत गरेका छन्।
करदाता प्रोत्साहन कार्यक्रममार्फत उपभोक्तालाई बिल लिन प्रोत्साहित गर्ने तथा औपचारिक कारोबार बढाउने उद्देश्य राखिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।