काठमाण्डौ । तिहार नजिकिएसँगै सप्तरीका कुमाले तथा विपन्न समुदायका महिलालाई दियो र हुक्कापाती बनाउन र बिक्री गर्न भ्याइनभ्याई भएको छ। दीपावलीको खर्च जुटाउने प्रमुख मौसमी आम्दानीका रूपमा उनीहरूले घरघर पुगेर आफ्ना उत्पादन बिक्री गरिरहेका छन्।
राजविराजसहित जिल्लाका विभिन्न क्षेत्रमा महिलाले लक्ष्मीपूजाका लागि आवश्यक दियो र हुक्कापाती बनाएर बजार तथा घरघरमा पुर्याइरहेका छन्। विगतदेखि नै तिहार आउनुअघि यस्ता सामग्री बनाएर बिक्री गर्ने र त्यसबाट प्राप्त आम्दानीले चाडपर्वको खर्च धान्ने चलन रहेको स्थानीय महिलाहरू बताउँछन्।
मजदुरी गरेर परिवार पाल्दै आएका कतिपय महिलाका लागि यो समय अतिरिक्त आम्दानीको महत्वपूर्ण अवसरसमेत बनेको छ। व्यवसायी महिलाका अनुसार करिब २ हजार रुपैयाँ बराबरको सामग्रीबाट हुक्कापाती बनाएर बिक्री गर्दा १५ हजार रुपैयाँसम्म आम्दानी गर्न सकिन्छ।
हुक्कापाती बनाउन सन्ठी, खर र सनपाट प्रयोग गरिन्छ। पहिले घरघरमै बनाइने हुक्कापाती पछिल्लो समय विशेषगरी सहरी क्षेत्रमा किनेर प्रयोग गर्ने चलन बढेको छ। यसले परम्परागत सामग्री बनाउने महिलाका लागि बजारसमेत विस्तार भएको छ।
तिलाठी कोइलाडी गाउँपालिकाकी रूकमिणी यादवले एक सातादेखि हुक्कापाती बनाउन व्यस्त रहेको बताएकी छन्। उनले तिहारको समयमा १५ देखि २० हजार रुपैयाँसम्म आम्दानी गर्दै आएको बताइन्। उनका अनुसार दैनिक ३०० देखि ५०० वटासम्म हुक्कापाती बिक्री हुने गरेको छ भने प्रतिगोटा १० देखि २० रुपैयाँसम्ममा बिक्री भइरहेको छ।
लक्ष्मीपूजा नजिकिँदै जाँदा हुक्कापातीको माग थप बढ्ने गरेको स्थानीयको भनाइ छ।
मधेसमा लक्ष्मीपूजाका दिन घरको छाना, तुलसीको मठ, कुलदेवताको कोठा तथा मन्दिरमा हुक्कापाती राख्ने परम्परा छ। पूजा सकिएपछि हुक्कापाती खेल्ने चलनसमेत रहँदै आएको छ।
यसैगरी तिलाठी कोइलाडीकी कविता पण्डित यतिबेला माटोका दियो बनाउन व्यस्त छिन्। उनी दैनिक करिब २ हजार दियो लिएर बजार पुग्ने र प्रतिदियो २ रुपैयाँमा बिक्री गर्ने गरेकी छन्। तिहारदेखि छठसम्मको अवधिमा दियो तथा माटाका सामग्रीको माग उच्च हुने भएकाले उनले यस सिजनमा २० देखि ४० हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेकी छन्।
यसरी परम्परागत सीप र श्रमलाई आम्दानीसँग जोडेर सप्तरीका महिलाले तिहारको खर्च मात्र जुटाइरहेका छैनन्, मधेसको पुरानो सांस्कृतिक परम्परालाई पनि निरन्तरता दिइरहेका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।