काठमाडौँ। अमेरिका र इरानबीच जारी द्वन्द्व कूटनीतिक माध्यमबाट समाधान हुन सक्ने संकेत देखिएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा तीव्र गिरावट आएको छ। अमेरिकी मध्यावधि निर्वाचन नजिकिँदै गर्दा दुवै देशका राष्ट्रपतिले वार्तामार्फत समस्या समाधान गर्न सकिने संकेत दिएपछि सोमबार तेलको मूल्य ७ प्रतिशतभन्दा बढीले घटेको हो।
अमेरिकाको वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्यूटीआई) कच्चा तेलको मूल्य ७.४ प्रतिशतले घटेर प्रतिब्यारेल ९६.४६ अमेरिकी डलरमा झरेको छ। यो गत जुलाई २७ यताकै सबैभन्दा ठूलो एकदिने गिरावट हो। त्यस्तै, अन्तर्राष्ट्रिय बजारमा मानकका रूपमा लिइने ब्रेन्ट कच्चा तेलको मूल्य ७.६ प्रतिशतले घटेर प्रतिब्यारेल १०४.७७ डलरमा कारोबार बन्द भएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान सम्झौता गर्न इच्छुक रहेको र त्यसको सम्भावना रहेको बताएका थिए। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि गत सप्ताहान्तमा ट्रम्प इरानविरुद्ध सैन्य शक्ति प्रयोग गर्न नचाहेको र कूटनीतिक माध्यमबाट द्वन्द्व समाधान गर्न इच्छुक रहेको बताएका थिए।
इरानको सरकारी समाचार संस्था इस्लामिक रिपब्लिक न्युज एजेन्सी (आईआरएनए)का अनुसार राष्ट्रपति मसुद पेजेस्कियानले तेहरान संवादमार्फत समस्या समाधान गर्न खोजिरहेको बताएका छन्। यसका लागि इरानका सर्वोच्च नेता आयातोल्लाह मोज्तबा खामेनीले सरकारलाई आवश्यक अधिकारसमेत प्रदान गरेको उनले जानकारी दिएका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।