काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले एनआईसी एशिया बैंक लिमिटेडलाई ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न पूर्वस्वीकृति दिएको छ।
बोर्डले आर्थिक वर्ष २०८३/८४ अन्तर्गत कात्तिक १७ गते बैंकको हकप्रद सेयर निष्कासन प्रस्तावलाई स्वीकृति दिएको हो।
स्वीकृतिअनुसार बैंकले हाल कायम चुक्तापूँजीको ५० प्रतिशत अर्थात् १:०.५० अनुपातमा हकप्रद सेयर जारी गर्नेछ। यसको अर्थ हाल कायम प्रत्येक २ कित्ता सेयर बराबर सेयरधनीले थप १ कित्ता हकप्रद सेयरका लागि आवेदन दिन पाउनेछन्।
बैंकले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका कुल ७ करोड ४५ लाख ८७ हजार ८३५ कित्ता हकप्रद सेयर निष्कासन गर्ने तयारी गरेको छ।
यसबाट बैंकले कुल ७ अर्ब ४५ करोड ८७ लाख ८३ हजार ५०० रुपैयाँ बराबरको पूँजी जुटाउनेछ।
हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनआईएमबी एस क्यापिटल लिमिटेडले पाएको छ।
बोर्डको सञ्चालक समितिबाट प्रस्ताव पारित भइसकेको र औपचारिक स्वीकृतिपत्र जारी हुने प्रक्रियामा रहेको बताइएको छ।
सेबोनबाट औपचारिक पत्र प्राप्त भएपछि बैंकले हकप्रद सेयर निष्कासनको मिति बुक क्लोज तथा आवेदन प्रक्रियासम्बन्धी विस्तृत विवरण सार्वजनिक गर्नेछ।
हकप्रद निष्कासनपछि बैंकको चुक्तापूँजी तथा समग्र पूँजीगत आधार थप मजबुत हुने अपेक्षा गरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।