काठमाडौं । अमेरिकाको मध्यावधि निर्वाचनमा डेमोक्र्याटिक पार्टीले व्यापक जित हासिल गरेपछि प्रविधि कम्पनीका सेयरमा ठूलो गिरावट आएको छ। एआई पूर्वाधार विस्तारमा कडा नियमन हुन सक्ने आशंकाले लगानीकर्ता त्रसित बनेका हुन्।
निर्वाचनमा डेमोक्र्याटले सिनेटमा सात र प्रतिनिधिसभामा कम्तीमा ३९ सिट थपेका छन् भने पाँच राज्यमा गभर्नर पद जितेका छन्। त्यसको प्रभाव सेयर बजारमा देखिएको छ। प्रविधि कम्पनीको बाहुल्य रहेको नास्डाक कम्पोजिट सूचक ५.५६ प्रतिशतले घटेको छ, जुन १९ महिनायताकै ठूलो गिरावट हो।
डेमोक्र्याटहरूले डेटा सेन्टर निर्माणमा नियन्त्रण, विद्युत् खर्च उपभोक्तामाथि नथोपर्ने व्यवस्था र एआई प्रणालीको स्वतन्त्र परीक्षण अनिवार्य गर्नुपर्ने माग गर्दै आएका छन्। टेक्सासकी नवनिर्वाचित गभर्नर जिना हिनोजोसाले नयाँ डेटा सेन्टर निर्माण रोक्ने प्रतिबद्धता जनाएकी छन्।
विश्लेषकहरूका अनुसार एआई क्षेत्रको तीव्र वृद्धिको आधार बनेको पूर्वाधार विस्तार सुस्त हुने आशंकाले लगानीकर्ताको विश्वास कमजोर बनाएको हो। डेटा सेन्टरले अत्यधिक विद्युत् र पानी खपत गर्ने तथा स्थानीय स्तरमा विरोध बढ्दै गएको छ।
यसैबीच, अलास्का र मिसिसिपीमा सिनेटका दुई सिटको अन्तिम नतिजा आउन बाँकी छ। ती दुवै सिट जिते डेमोक्र्याटको सिनेटमा ५६ सिट पुग्न सक्नेछ। जनवरीदेखि नयाँ कार्यकाल सुरु भएपछि डेमोक्र्याटहरूले ट्रम्प प्रशासनमाथि अनुसन्धान गर्ने र उनका नियुक्ति रोक्न सक्नेछन्।
तर, त्यसअघि रिपब्लिकनको नियन्त्रणमा रहेको कंग्रेसले डिसेम्बर ११ पछि पनि संघीय सरकार सञ्चालनका लागि आवश्यक बजेट विधेयक पारित गर्नुपर्नेछ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।