काठमाण्डौ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा २ करोड ५३ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएको छ।
गत आर्थिक वर्षको सोही अवधिमा संस्थाले ८० लाख २७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। यस आधारमा संस्थाको नाफा करिब २१६ प्रतिशतले बढेको हो।
समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी ५ करोड २६ लाख ७३ हजार रुपैयाँबाट बढेर ७ करोड १९ लाख ५३ हजार रुपैयाँ पुगेको छ।
कुल सञ्चालन आम्दानी ७ करोड ८१ लाख ३८ हजार रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा यस्तो आम्दानी ६ करोड ८९ लाख १२ हजार रुपैयाँ थियो।
संस्थाको सञ्चालन नाफा पनि उल्लेख्य बढेको छ। गत वर्ष १ करोड १४ लाख ६७ हजार रुपैयाँ रहेको सञ्चालन नाफा यस वर्ष ३ करोड ६२ लाख ८० हजार रुपैयाँ पुगेको छ।
असोज मसान्तसम्म संस्थाको ग्राहक कर्जा २ अर्ब ८६ करोड रुपैयाँ र निक्षेप ८७ करोड ९९ लाख रुपैयाँ रहेको छ।
संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी ६६.२० रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा यस्तो आम्दानी २०.९२ रुपैयाँ थियो।
यद्यपि संस्थाको खराब कर्जा अनुपात भने बढेको छ। गत वर्षको पहिलो त्रैमासमा ८.४१ प्रतिशत रहेको खराब कर्जा यस वर्ष १२.९२ प्रतिशत पुगेको छ।
संस्थाको वितरणयोग्य नाफा ७ करोड १५ लाख ४४ हजार रुपैयाँ रहेको छ भने वार्षिकीकृत वितरणयोग्य प्रतिसेयर नाफा ४६.६२ रुपैयाँ कायम भएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।