काठमाण्डौ । आज बिहान घरको पहरा दिने कुकुरको गलामा माला लगाइन्छ। साँझ त्यही घरको दैलोमा लक्ष्मीको स्वागत गर्न दीप बालिन्छ। तिथिको घटबढले कात्तिक २२ गते आइतबार कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेका छन्।
अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिका सदस्य आचार्य लक्ष्मण पन्थीका अनुसार बिहान कुकुरको पूजा गर्ने र साँझ लक्ष्मीपूजा गर्ने क्रम मिलाइएको छ। कात्तिक कृष्ण चतुर्दशीमा कुकुरको पूजा गर्ने र औँसीको साँझ लक्ष्मीपूजा गर्ने परम्परा छ। यसपालि दुवै पूजा एउटै गते परेकाले बिहान र साँझ छुट्याएर मनाइँदै छ।
बिहान पहरेदारलाई माला साँझ दैलोमा दीप
कुकुर तिहारमा कुकुरलाई टीका र माला लगाइदिएर मीठा परिकार खुवाइन्छ। घरको सुरक्षा गर्ने र मानिसको भरपर्दो साथीका रूपमा कुकुरलाई सम्मान गर्ने दिन पनि हो यो। धार्मिक मान्यताअनुसार यमराजका द्वारपाल श्याम र सबल नामका कुकुरले यस दिन कुकुरको पूजा गर्ने मानिसलाई यमलोक जाने बाटो छोडिदिन्छन्।
कुकुर तिहारलाई नरक चतुर्दशी पनि भनिन्छ। यस दिन बिहान तीर्थ, नदी वा तलाउमा स्नान गरी दक्षिणतर्फ फर्काएर दीप बगाउने चलन छ। यसो गर्दा मृत्युपछि नरक जानु नपर्ने धार्मिक विश्वास छ।
साँझ भने घरको दैलो र आँगनमा दीप बालेर धन र समृद्धिकी देवी लक्ष्मीको स्वागत गरिन्छ। बिहान घर जोगाउने साथीप्रति कृतज्ञता व्यक्त गरिन्छ भने साँझ त्यही घरमा समृद्धिको कामना गरिन्छ।
सोमबार गाईपूजा बुधबार भाइटीका
यसपालि लक्ष्मीपूजा आइतबार साँझ परे पनि गाईपूजा सोमबार कात्तिक २३ गते परेको छ। मंगलबार कात्तिक २४ गते गोरुपूजा, हलितिहार, गोवर्धनपूजा, बलिपूजा र म्हपूजा मनाइनेछ।
यमपञ्चकको अन्तिम दिन भाइटीका बुधबार कात्तिक २५ गते परेको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ७ मिनेट तोकेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।