बिहीबार, कार्तिक २६,२०८३ 02:02:23
  • बिहीबार, कार्तिक २६,२०८३ 02:02:23
Global IME Bank Limited

बाढीपछि गोसाइँकुण्डमा फर्किन थाले पर्यटक, स्थानीय व्यवसायमा राहत

Bizshala
बाढीपछि गोसाइँकुण्डमा फर्किन थाले पर्यटक, स्थानीय व्यवसायमा राहत
New Office

 

काठमाण्डौ । बाढीका कारण सुस्ताएको रसुवाको गोसाइँकुण्ड क्षेत्रको पर्यटन व्यवसाय क्रमशः लयमा फर्किन थालेको छ। सडक तथा पदमार्गमा आवागमन सहज बन्दै गएसँगै आन्तरिक र बाह्य पर्यटकको चहलपहल बढेको हो।

गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले सडक र पदमार्गमा क्षति पुर्‍याएपछि यस क्षेत्रका पर्यटकीय गतिविधि प्रभावित भएका थिए। अहिले तीर्थयात्री र पदयात्री फर्किन थालेपछि पर्यटनमा आश्रित स्थानीय व्यवसायीले राहत महसुस गर्न थालेका छन्।

गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङका अनुसार बाढीपछि केही समय ठप्पजस्तै बनेको पर्यटन क्षेत्र फेरि चलायमान हुन थालेको छ। पर्यटकको आगमन बढ्दा होटल व्यवसायी, पथप्रदर्शक, यातायात मजदुर र साना व्यवसायीलाई राहत पुग्न थालेको उनले बताए।

गाउँपालिकाले पदमार्ग मर्मतसम्भारसँगै पर्यटकको सुरक्षा र सहज आवागमनका लागि आवश्यक समन्वय गरिरहेको तामाङले जानकारी दिए।

लाङटाङ राष्ट्रिय निकुञ्जका सूचना अधिकारी तथा संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले पनि आवागमन सहज बन्दै गएपछि गोसाइँकुण्ड क्षेत्रमा पर्यटक नियमित आउन थालेको बताए। निकुञ्जले पर्यटनसँगै प्राकृतिक वातावरण र जैविक विविधता संरक्षणका कार्यक्रम सञ्चालन गरिरहेको उनको भनाइ छ।

नागरिक समाज रसुवाका अध्यक्ष बाबुलाल तामाङका अनुसार सडक र पदमार्गको अवस्थामा भइरहेको सुधारसँगै गोसाइँकुण्ड आउने तीर्थयात्री तथा पदयात्रीको सङ्ख्या बढ्न थालेको छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

चाडपर्वमा सीमित चहलपहल वर्षभरि फैलिँदै

स्थानीय होटल व्यवसायी सन्तोष घले गोसाइँकुण्डमा पछिल्लो समय आन्तरिक पर्यटक र युवापुस्ताको आकर्षण बढेको बताउँछन्। उनका अनुसार पहिले जनैपूर्णिमा र गङ्गादशहरामा तीर्थयात्रीको बढी चहलपहल हुने गरेकामा अहिले वर्षभरिजसो पदयात्रा र घुमफिरका लागि पर्यटक आउने गरेका छन्।

धार्मिक यात्रासँगै प्राकृतिक सौन्दर्य अवलोकन र पदयात्राका लागि आउनेहरूको उपस्थितिले स्थानीय पर्यटन व्यवसायलाई थप अवसर दिएको उनको भनाइ छ। तर त्यसको दिगो लाभ लिन पदमार्गको स्तरोन्नति, सञ्चार सुविधा र आधारभूत पूर्वाधारमा ध्यान दिनुपर्ने उनले बताए।

यी पूर्वाधार सुधार गर्न सके पर्यटनले स्थानीयको जीविकोपार्जनसँगै राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान बढाउन सक्ने घलेको विश्वास छ।

आस्था र प्राकृतिक सौन्दर्यको सङ्गम

लाङटाङ राष्ट्रिय निकुञ्जभित्र पर्ने गोसाइँकुण्ड समुद्री सतहबाट चार हजार ३८० मिटर उचाइमा अवस्थित छ। गोसाइँकुण्ड गाउँपालिका–६ मा रहेको यो कुण्ड करिब १३.८० हेक्टर क्षेत्रफलमा फैलिएको छ।

हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा आस्थाको केन्द्रका रूपमा परिचित गोसाइँकुण्डको सम्बन्ध भगवान् शिवसँग जोडिएको छ। समुद्र मन्थनबाट निस्किएको कालकूट विष सेवन गरेपछि शरीरको डाहा शान्त पार्न शिवले त्रिशूल प्रहार गरी पानी निकालेको र त्यसैबाट कुण्ड बनेको धार्मिक विश्वास छ।

विभिन्न समुदायमा यस कुण्डका फरक नामसमेत प्रचलित छन्। तामाङ समुदायले ‘ग्यो’ वा ‘छोकर’, शेर्पाले ‘घ्यो’, तिब्बती समुदायले ‘छो’ र नेवार समुदायले ‘शिलु’ भन्ने गरेका छन्।

Garima Development Bank
Bizshala
IME remit

गोसाइँकुण्ड आसपासका भैरवकुण्ड, सरस्वतीकुण्ड, सूर्यकुण्ड, चन्द्रकुण्ड, दूधकुण्ड र गणेशकुण्ड पनि पर्यटकका आकर्षण हुन्। ऐतिहासिक अमरसिंह गुफा र स्थानीय तामाङ समुदायको मौलिक संस्कृतिले यस क्षेत्रको यात्रालाई थप विविधता दिन्छन्। गोसाइँकुण्ड क्षेत्र हेलम्बु, लाङटाङ र तामाङ सम्पदा मार्गसँग पनि जोडिएको छ।

पारिस्थितिकीय महत्त्वका कारण गोसाइँकुण्ड क्षेत्रलाई विसं २०६४ असोज ५ गते अर्थात् सन् २००७ सेप्टेम्बर २३ मा रामसार सूचीमा समावेश गरिएको थियो। गोसाइँकुण्ड समेटिएको लाङटाङ क्षेत्रमा हिमचितुवा, रातो हाब्रे, कस्तुरी मृग र हिमाली थारलगायत वन्यजन्तु तथा लालीगुराँस, सुनाखरी र अन्य हिमाली वनस्पति पाइन्छन्।

विशेषगरी जेठ–असारमा पर्ने गङ्गादशहरा र साउन–भदौमा पर्ने जनैपूर्णिमामा गोसाइँकुण्डमा ठूलो मेला लाग्छ। रसुवाका पुरोहित टङ्कप्रसाद ढकालका अनुसार बालाचतुर्दशीमा पनि यहाँ विशेष धार्मिक अनुष्ठान हुने गरेको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.