काठमाण्डौ । सार्वजनिक सेवालाई प्रविधिमार्फत सहज र एकीकृत बनाउन नेपालले इस्टोनियासँग सहकार्यको प्रस्ताव अघि सारेको छ। सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले इस्टोनियाकी न्याय तथा डिजिटल मामिलामन्त्री लिजा पाकोस्टासँग डिजिटल पूर्वाधार, विद्युतीय शासन र साइबर सुरक्षामा साझेदारीबारे छलफल गरेका छन्।
कतारको दोहामा अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) को विश्व दूरसञ्चार नीति मञ्चमा सहभागी हुने क्रममा दुई मन्त्रीबीच भेट भएको हो। छलफलमा प्रविधिको प्रयोगसँगै त्यसलाई सञ्चालन गर्ने संस्थागत क्षमता बढाउने विषयसमेत समेटिएको थियो।
बिजमाण्डूले मन्त्रीको सचिवालयलाई उद्धृत गर्दै जनाएअनुसार तिमिल्सिनाले इस्टोनियाको प्राविधिक ज्ञान र सफल अभ्यास नेपालको सार्वजनिक सेवा सुधारमा उपयोगी हुने धारणा राखे। उनले सरकारी सेवालाई नागरिकमैत्री, पारदर्शी र प्रभावकारी बनाउन अनुभव आदानप्रदानमा जोड दिए।
इस्टोनियाले डिजिटल पहिचान, सुरक्षित तथ्यांक आदानप्रदान, विद्युतीय हस्ताक्षर तथा अनलाइन सार्वजनिक सेवाका प्रणाली विकास गरेको छ। यी क्षेत्रमा हासिल अनुभवबाट नेपालले सिक्न सक्ने र त्यसले सार्वजनिक सेवालाई थप डिजिटल तथा एकीकृत बनाउन सहयोग पुग्ने मन्त्री तिमिल्सिनाको भनाइ थियो।
इस्टोनियाकी मन्त्री पाकोस्टाले पनि डिजिटल रूपान्तरण र विद्युतीय शासनका क्षेत्रमा नेपालसँग पारस्परिक सहकार्य तथा साझेदारी अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको सचिवालयले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।