काठमाण्डौ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको निलम्बनको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । आज अधिवक्ता अनुपम भट्टराईले महान्यायाधिवक्ता कार्यालय, महान्यायाधिवक्ता दिनमणि पोखरेल र गृहमन्त्री रवि लामिछानेलाई विपक्षी बनाएर रिट दायर गरेका हुन् ।
रिटमा महान्यायाधिवक्ता कार्यालयले गृहमन्त्रीमाथि कुनै पनि मुद्दामा कुनै पनि अदालतमा अभियोजन नभएको पत्र खारेजी गर्न माग गरिएको छ । रिटमा कास्की, रुपन्देही र चितवनमा लामिछानेविरुद्ध सहकारी ठगीमा मुद्दा दायर नभएको भनेर महान्यायाधिवक्ता कार्यालयले लेखेको पत्रको कानुनी बैधतामाथि प्रश्न उठाइएको छ ।
यस्तै गृहमन्त्रीले अनुसन्धान प्रक्रियामा अनुचित प्रभाव पार्न सक्ने भन्दै अनुसन्धान प्रक्रिया चलिरहेकाले लामिछानेलाई निलम्बन गर्न माग गरिएको छ ।
उक्त रिटमाथि छलफल गर्न आउँदो बुधबारका लागि पेशी तोकिएको छ ।