काठमाण्डौ । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले सुनसरीको गढीस्थित भण्डारण गृह सञ्चालनमा आएको तेस्रो वर्ष पूरा भएको अवसरमा अन्तरक्रिया कार्यक्रममा आयोजना गरेको छ । उक्त कार्यक्रम कम्पनीका अध्यक्ष आनन्द बगरियालको उपस्थितीमा बिहिबार विराटनगरमा सम्पन्न भएको हो ।
उक्त अवसरमा अध्यक्ष बगरियालले भण्डारण गृहमा दाना उद्योग र सर्वसाधारण किसानले आफ्ना अनाज भण्डारण गरेको जानकारी दिए । मैदा र तेल मिल तथा खाद्य प्रशोधन उद्योगहरुले पनि आधुनिक साइलो (सुरक्षित रुपमा अन्न भण्डारण गर्ने ट्यांकी) बारे जिज्ञासा राखेको उनको भनाइ छ ।
अन्तरक्रिया कार्यक्रममा कम्पनीका महाप्रबन्धक समिरराज सत्यालले साइलोमा अनाज राख्ने तरिकाबारे जानकारी गराएका थिए । उनका अनुसार साइलोमा राख्नुअघि अनाजलाई सफा गरिन्छ र अन्नमा हुनसक्ने धातु र अखाद्य वस्तु हटाएर मात्र साइलोमा राखिन्छ । ‘साइलोमा राखेको अन्न ९ नौ महिनासम्म ताजा बस्छ । कुहिने, किरा लाग्ने जस्ता समस्या हुँदैन ।’ उनले भने ।
वैज्ञानिक अन्न भण्डारणविधि परम्परागतभन्दा सस्तो र सुरक्षित रहेको पनि उनले जानकारी दिए । ‘कम जनशक्तिले पुग्ने हुँदा यसले समय र खर्च दुवै बचाउँछ,’ महाप्रबन्धक सत्यालले भने । भण्डारण गृहमा राखेको अन्न धितो राखेर बैंक, वित्तीय संस्थाबाट ऋण लिने पाइने सुविधाले सर्वसाधारण र व्यवसायीलाई आकर्षित गरिरहेको उनको भनाइ छ । कम्पनीले भण्डारणमा अन्न राख्ने किसानलाई एकै ठाउँबाट बिउबिजन, मलखाद, औषधी, उपकरण तथा अन्य आवश्यक वस्तु र सेवा पनि उपलब्ध गराउँदै आएको छ । भण्डारण गृहमा रहेको अनाज लिलाम बढाबढमा बिक्री गर्ने प्रबन्ध पनि कम्पनीले मिलाइदिने हुँदा आफ्नो उत्पादनको उचित प्रतिफल पाइने विश्वासले किसान यसप्रति आकर्षित भएको कम्पनीले जनाएको छ ।
सर्वसाधारणको २० प्रतिशत स्वामित्व रहेको यो कम्पनीले पर्साको बिरुवागुठीमा केही दिनअघि अन्न भण्डारण गृह सञ्चालनमा ल्याएको थियो । कपिलवस्तुको वीरपुरमा पनि चाँडै नै यो सेवा उपलब्ध गराउने तयारी कम्पनीको छ । हाल कम्पनीको कुल भण्डारण क्षमता ५५ हजार मेट्रिक टन छ । स्वचालित र साइलो प्रविधिमा आधारित यी भण्डारण गृहमा मकै, गहुँ, भटमास जस्ता अनाज भण्डारण गर्न सकिन्छ ।
कम्पनीको पर्सा भण्डारण गृहको क्षमता २५ हजार मेट्रिक टन छ । सुनसरी र कपिलवस्तुको क्षमता १५÷१५ हजार मेट्रिक टन छ । यी भण्डारण गृहमा गहुँ, मकै र भटमास लगायत सबै किसिमका अन्न भण्डारण गर्न मिल्छ । भण्डारण गृहको सेवा खाद्य उद्योग, व्यापारी, कृषक सबैले लिन सक्छन् ।
भण्डारण स्थलको अभावमा किसान व्यापारीले तोक्ने सस्तो मूल्यमा आफ्ना उत्पादन बिक्री गर्न बाध्य भएका र कुहिने तरकारी र फलफूल पशुवस्तुलाई खान दिएका खबर बारम्बार आइरहेको सन्दर्भमा सुरक्षित भण्डारण गृहको सान्दर्भिकता उच्च रहेको कम्पनीको भनाइ छ ।
नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेड किसानका अन्न भण्डारण, कृषि बजारीकरण र व्यापारिक तथा औद्योगिक प्रयोजनका लागि खाद्यान्नको गोदामसम्बन्धी आवश्यकता परिपूर्ति गर्न कम्पनी ऐन २०६३ अन्तर्गत २०७५ सालमा स्थापना भएको कम्पनी हो ।
कम्पनीले कृषिजन्य उत्पादनको सुरक्षित भण्डारण, प्रशोधन, लिलाम बढाबढ सेवा, कृषिजन्य उत्पादन धितो राखी ऋणको प्रबन्ध गर्नुका साथै किसानलाई एकै ठाउँबाट बिउबिजन, मलखाद, औषधी, उपकरण तथा अन्य आवश्यक वस्तु तथा सेवा उपलब्ध गराउँदै आएको छ । सर्वसाधारणको २० प्रतिशत स्वामित्व रहेको यो कम्पनीले सुनसरीको गढी, पर्साको बिरुवागुठी र कपिलवस्तुको वीरपुरमा अन्न भण्डारण गृह सञ्चालन गर्ने योजना रहेकोमा हाल सुनसरी र पर्सामा सेवा विस्तार गरिसकेको र छिट्टै कपिलवस्तुमा सेवा दिन तयारी गरिरहेको छ । हाल कम्पनीको कुल भण्डारण क्षमता ५५ हजार मेट्रिक टन छ । स्वचालित र साइलो प्रविधिमा आधारित नेपालकै पहिलो तथा ठूला यी भण्डारणगृहमा मकै, गहुँ, भटमास जस्ता अनाज भण्डारण गर्न सकिन्छ ।
वेयरहाउजिङका अन्न भण्डारण केन्द्रले भण्डारणस्थलको अभावमा सस्तो मूल्यमा अन्न बेच्नुपर्ने किसानको बाध्यता अन्त्य भएको छ भने मुसा, कीरा, ढुसी, चोरी, हावापानी आदिले गर्ने अन्नको नोक्सानीबाट बच्न सकिन्छ । किसानले भण्डारण गरेको अनाज धितो राखेर बैंक, वित्तीय संस्थाबाट ऋण पाउने अवस्था बनेको छ ।
कम्पनीका भण्डारण गृहमा चीन र जर्मनीबाट आयातित अत्याधुनिक प्रविधि खाद्यान्न सफा गर्ने, केलाउने, सुकाउने र प्रयोगशालामा गुणस्तर परीक्षण गरी मानकीकरण गर्ने सेवा पनि उपलब्ध छन् । चिलर प्रयोग गरी खाद्यान्नको तापमान नियन्त्रण गरिने भएकाले प्रशोधित अन्नले बजारमा उचित मूल्य पाउन थालेका छन् ।
कम्पनीका अत्याधुनिक भण्डारण सुरक्षित, प्रविधियुक्त, सहज र सर्वसुलभ छन् । साथै किसानहरूले एउटै छानामुनि अन्नको लिलाम बढाबढ सेवा र धितोमा ऋणसमेत पाउन थालेका छन् । कम्पनीले उपलब्ध गराउँदै अएको एकीकृत कृषि सेवा र मन्डी बजार व्यवस्थापन सुविधाले कृषि उपजको बजारीकरणमा पनि योगदान गरेको छ ।
कम्पनीको वैज्ञानिक अन्न भण्डारण गृहप्रति सर्वसाधारणको चासो बढेको छ । कम्पनीले बिहीवार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सुनसरी बक्राहका किसान तारानन्द यादवले कृषकले उत्पादन गरेको अनाज सुरक्षित रुपमा भण्डारण गर्ने सुविधा उपलब्ध भइसकेको जानकारी पाएपछि आफूले उत्पादन गरेको अन्न सुनसरीको गढीस्थित उक्त भण्डारण गृहमा राखेको बताए ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                