काठमाण्डौ । सधैको साता जस्तै आज पनि हामीले नियमित स्तम्भ ‘ग्राउण्ड जिरो’लाई निरन्तरता दिएका छौं । ग्राउण्ड जिरोको क्रममा आज हामी नयाँ बानेश्वर र अनामनगर क्षेत्रका केही ब्रोकर हाउसहरुमा पुगेका थियौं । आज पनि बजार दिनभर जसो सामान्य अंकले मात्रै तलमाथि गरे पनि बजारमा खासै उत्साह देखिएन ।
आज हामी सबैभन्दा पहिले नागरिक स्टक डिलर कम्पनी (स्टक ब्रोकर नम्बर ६०) मा पुग्यौं । यहाँ लगानीकर्ताहरुको उपस्थिति राम्रै थियो । केहि लगानीकर्ता भने बढ्दो गर्मीका कारण झोक्राईरहेका थिए । आज बिहान प्रि–ओपन सेशनमा बजार १५ अंकले बढेको थियो । लगानीकर्ताको आउने क्रम जारी नै थियो । यतिकैमा एक लगानीकर्ता ब्रोकर हाउस छिरे । ‘कस्तो रह्यो तपाईहरुको शुक्रबार र शनिबार ?’ भित्र छिरेपछि उनले अभिवादनसँगै प्रश्न तेर्स्याए । ‘ यो दुई दिनपनि साह्रै लामो भयो । २ दिन बजार हेर्न नपाउँदा त साह्रै गाह्रो हुँदो रहेछ,’ एक महिला लगानीकर्ताले जवाफ दिइन् ।
यसै ब्रोकरमा भेटिएका एक लगानीकर्ताले एक्लै लगानीको रणनीति बनाउन कठिनाई भएकाले इन्भेष्टमेन्ट कम्पनी स्थापना गरेर सामूहिक लगानी गर्ने सोचमा रहेको बताए । ‘कापीका पानामा कम्पनीहरुको लिष्ट राखेर हैरान भईयो । हामी पनि अब समूह बनाएर लगानी गर्दा कसो होला ? एउटा कम्पनी स्थापना गर्नुपर्यो,’ उनले भने । उनको प्रश्नको जवाफ दिदै एक लगानीकर्ताले भने,‘हामी त लो क्यापको सिक्लेस हाइड्रो तिर लागेका छौं । तपाईहरु पनि आउने भए आउनुस् है ।’
‘यो कम्पनी अलि महँगो भएन र ? अहिले ६ सयमा किनेर प्लेजमा राख्ने हो । आठ सय माथि पुगेसी बेच्ने हो । २ सय नाफा आए भैगो नि,’ छेउमा एक लगानीकर्ताले भने । बजारसँग सम्बन्धित भलाकुसारी चल्दै थिए । प्रि – ओपनमा बढेको बजार विस्तारै घट्दै थियो ।
केही समयको बसाई पछि हामी शंखमूलस्थित कलश सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ७४) मा पुग्यौं । यहाँ लगानीकर्ताहरुको उपस्थिति ठीकै थियो । ब्रोकर हाउसमा केही लगानीकर्ता आफ्नै कम्प्यूटरमा कारोबार हेर्न मस्त देखिन्थे । यसै ब्रोकरमा भेटिएका एक लगानीकर्ताले अहिलेको समयमा माइक्रो फाइनन्समा लगानी गर्न उपयुक्त रहेको तर्क गरे । भित्तामा भुण्डिरहेको घडीमा साढे १२ बजी सकेको थियो । बजार झिनो अंकले मात्रै तलमाथि गर्दै थियो ।
यहाँबाट हामी अनामनगरमा रहेको इम्पेरियल सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ४५)तर्फ लम्क्यौं । बाहिरको तापक्रम बढिरहेको थियो । तर ब्रोकर हाउसभित्र भने शितलता थियो । केही लगानीकर्ता उखरमाउलो गर्मी सहन नसकेर निन्द्रामा झुलेका थिए भने केही गफमा मस्त थिए । एक लगानीकर्ताले बोलेको सुनियो,‘सिटी होट्ल्सले सर्किट हान्न थाल्यो ।’ अर्का लगानीकर्ताले भने,‘खेलाडीको खेल हो । हाथवे पनि हेर्नुस्। अब बजारमा चल्ने भनेका यस्तै कम्पनी हुन् । तपाई हामी बैंक किनेर ब्रोकरमा झुलेर बस्ने हो । कमाउनेले यस्तै कम्पनीमा कमाएर लगि सके ।’
यसै ब्रोकरमा भेटिएका एक लगानीकर्ताले आरबीसीएलले यसपटक पनि एजीएम नगरेको गुनासो गरे । उनले भने, ‘आरबीसीएलको सीइओले महिनाको ४ लाख तलब खाएका छन् । तर एउटा एजीएम समेत गर्न सकेका छैनन् । अब एक दिन हामी सबै साथीहरु मिलेर जानु पर्यो ।’
उनको बोलीमा समर्थन जनाउँदै एक लगानीकर्ताले भने, ‘अहिले नयाँ सीईओ आएका छन् । यो दशै भित्र एजीएम गर्ने भन्ने सुनिन्छ । खास कुरो के रहेछ एकपटक बुझ्न जानै पर्छ कि कसो ? सरकारी निकाय आरबीसीएल , धितोपत्र बोड र नेप्से जस्ता ठाँउ त जागिर मात्रै खाने ठाँउ भए ।
ब्रोकर हाउसमा यस्तै गल्फति चल्दै थिए । यसपछि हामी अनामनगरमै रहेको भोले गणेश सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ६१) मा पुग्यौ । यहाँ पनि केही लगानीकर्तामा खासे उत्साह थिएन । यहाँ भेटिएका केही भने लगानीकर्ता सेयर बजारमा चुर्लुम्ममै डुबेको गुनासो गर्दै थिए । रातो क्याप लगाएका एक लगानीकर्ताले मोबाइल देखाउँदै आफू युनाइटेड मोदि हाइड्रोमा डुबेको गुनासो गरे । उनलाई सान्त्वना दिदैं एक लगानीकर्ताले भने,‘ म पनि सर्बोत्तम सिमन्टमा राम्रैसँग डुबेको छ । अलि माथि महंगोमा परिएछ । एकपटक लगानी फिर्ता आउँला भन्ने आश छ ।’