काठमाण्डौ । काठमाण्डौका विभिन्न स्थानमा असार २ गतेदेखि ७ दिनसम्म विद्युत आपूर्ति अवरूद्ध हुने भएको छ। विद्युत् प्राधिकरण अन्तर्गतको काठमाण्डौ उपत्यका पश्चिम वितरण प्रणाली सुदृढीकरण आयोजनाले एक सूचना गर्दै काठमाण्डौका विभिन्न स्थानहरूमा दैनिक ४ घन्टा विद्युत आपूर्ति अवरूद्ध हुने जनाएको हो ।
सूचनाअनुसार किर्तीपुर, जोरपाटी,कुलेश्वर र बानेश्वर वितरण केन्द्र अन्तर्गतका विद्युतीय वितरण लाइन भूमिगत गर्नुपर्ने भएकाले यी वितरण केन्द्रबाट आपूर्ति हुने विभिन्न स्थानहरुमा विद्युत आपूर्ति अवरुद्ध हुनेछ । विद्युत आपूर्ति बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बन्द रहनेछ ।
आइतबार जोरपाटी वितरण केन्द्रको डाँची फिडर अन्तर्गत मूलपानी पीपलबोटदेखि बाबा चोकसम्म, सोमबार कुलेश्वर वितरण केन्द्रको कालीमाटी फिडर अन्तर्गत रविभवनदेखि कलंकी मन्दिरसम्म, मंगलबार वानेश्वर वितरण केन्द्रको कोटेश्वर फिडर अन्तर्गत तीनकुने पुलदेखि महादेव खोला पुलसम्म र बुधबार कीर्तिपुर वितरण केन्द्रको कीर्तिपुर फिडर अन्तर्गतका पाँगा सडक क्षेत्रमा विद्युत् अवरूद्ध हुनेछ।
यसैगरी बिहीबार कुलेश्वर वितरण केन्द्रको ताहाचल फिडर अन्तर्गतका कालीमाटी चोक क्षेत्रमा,शुक्रबार बानेश्वर वितरण केन्द्रको बौद्ध क्षेत्रमा महाकाल फिडर अन्तर्गत पर्ने स्थानमा र शनिबार कीर्तिपुर वितरण केन्द्रको रोपवे र मच्छेगाउँ फिडर अन्तर्गतका नगाउँ क्षेत्रमा विद्युत आपूर्ति अवरूद्ध हुने आयोजनाले जनाएको छ।
मौसम प्रतिकूल भएको अवस्थामा भने विद्युत् आपूर्ति बन्द नहुने आयोजनाले जनाएको छ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                