काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा आज सुनको मूल्यमा व्यापक गिरावट आएको छ । आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १.७० प्रतिशत अर्थात ४०.२२ डलरले घटेको छ ।
यससँगै सुनको मूल्य प्रतिऔंस २ हजार ३२०.७९ डलरमा झरेको छ ।
सुनसँगै चाँदीको मूल्यमा पनि व्यापक गिरावट आएको छ। चाँदीको मूल्य प्रतिऔंस ३.९९ प्रतिशत अर्थात १.२३ डलरले घटेको छ । यो गिरावटसँगै अन्तराष्ट्रिय बजारमा चाँदीको मूल्य प्रतिऔंस २९.५४ डलर कायम भएको छ ।
अमेरिकी केन्द्र्रीय बैंकले ब्याजदरमा कम कटौती गर्ने सम्भावना भएपछि अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएको हो । अमेरिकाको अर्थतन्त्रमा देखिएको सुधारका कारण ब्याजदर कटौती टरेको छ । यद्यपी अमेरिकी हाउजिङ क्षेत्रको सुस्ततामा भने सुधार आएको छैन । यस्तै बेरोजगारी दाबी अपेक्षा गरेभन्दा बढी देखिएको छ । यी सबै कारणले लगानीकर्तामा आगामी सेप्टेम्बरमा फेडरल रिजर्भले ब्याजदर कटौती गर्ने सम्भावना भने जीवितै छ । यस्तै अमेरिकी डलर बलियो बन्दा समेत सुनको मूल्यमा गिरावट आउन आएको हो ।
नेपाली बजारमा भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४४ हजार ७ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ४४ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।