काठमाण्डौ । राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न अस्वीकार गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले एमालेबाट मन्त्री बनेकाहरुलाई बर्खास्त गर्ने तयारी सुरु गरेका छन् ।
बालुवाटारस्थित उच्च स्रोतका अनुसार प्रचण्डले एमालेका मन्त्रीहरुले राजीनामा दिनुअघि नै उनीहरुलाई बर्खास्त गर्न चाहेका छन् ।
यही तयारीका लागि नेपाली कांग्रेसको सानेपास्थित मुख्यालयमा आयोजित फोटो प्रदर्शनीमा सहभागी भएर प्रचण्ड सिंहदरबार पुगेका छन् । त्यहीबाट एमालेबाट सरकारमा सहभागी सबै मन्त्रीलाई बर्खास्त गर्ने निर्णय आउने बुझिएको छ ।
यसैबीच, सानेपा पुगेर समेत प्रचण्डले नेपाली कांग्रेसलाई सरकारको नेतृत्व गर्ने तुरुप फालेका छन् । उनले सभापति शेरबहादुर देउवालाई सरकारको नेतृत्व गर्न आग्रह गरेका हुन् ।
सानेपा पुग्नुअघि शितल निवास पुगेका प्रचण्डले यथास्थितिमा आफूले तत्काल राजीनामा नदिने, तर शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्ने सुनिश्चितता भएको खण्डमा मार्गप्रशस्त गर्ने बताएका स्रोतले जनाएको छ ।