काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएकै दिन ठूला उद्योगीहरुले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध फायर खोलेका छन् ।
उद्योगीहरुको मागप्रति नरम रहँदै आएका ओली प्रधानमन्त्री भएपछि माओवादी समर्थनमा विद्युत प्राधिकरण हाँकिरहेका घिसिङविरुद्ध फायर खोलेका हुन् ।
बिजुलीको डेडिकेटेड फिडर प्रयोग गरी बक्यौता नतिरेको विवादमा ५९ उद्योगले आफैं बिजुलीको काटेर कुलमानलाई अप्ठ्यारो बनाएका हुन् ।
प्राधिकरणले असार २५ र २६ गते केही ठूला उद्योगको बिजुली काटेर बाँकीलाई समेत दवाब दिएपछि त्यसको उद्योगीहरुले विज्ञप्ति जारी गरी प्रतिवाद गरेका थिए । उद्योगीहरुले बिजुली काटिएका उद्योगहरुमा लाइन नजोडे बाँकी उद्योगको बिजुली समेत आफैंले काटिदिने चेतावनी दिएका थिए ।
तर, उद्योगीहरुको चेतावनीपछि पनि टसको मस नभएपछि कुलमानलाई गलाउने उद्देश्यले उद्योगीहरुले आइतबारदेखि सबै उद्योगमा स्वस्फूर्त बिजुली काटेका हुन् ।
केही ठूला उद्योगले डेडिकेटेड तथा ट्रंकलाइन प्रयोग गरेर करोडौं बक्यौता नतिरेको भन्दै विद्युत प्राधिकरणले पटक–पटक असूलीका लागि तागेता गर्दै आएको थियो । उद्योगीहरुले आफूहरुमाथि प्राधिकरणबाट अन्याय भएको भन्दै तत्कालीन प्रचण्ड नेतृत्वको सरकार गुहारेपछि सरकारले गिरिशचन्द्रलालको नेतृत्वमो न्यायिक आयोग गठन गरेको थियो।
उद्योगीहरुले आयोगको सिफारिस कार्यान्वयन गर्नुपर्ने माग उठाइरहेका छन् । तर, कुलमान भने आयोगकै प्रतिवेदनलाई अपव्याख्या गर्दै आफूहरुलाई यो वा त्यो नाममा दुःख दिइरहेका उद्योगीको आरोप छ ।
उद्योगीहरुले गिरिशचन्द्र लाल नेतृत्वको आयोगको सुझाव र क्याबिनेटको निर्णयअनुसार बिजुली उपयोगको सप्रमाण बिल जारी भएमा महसुल तिर्न तयार रहेको बताउँदै आएका छन् । तर, प्राधिकरणले भने उद्योगीहरुले उपयोग गरेको विद्युतको कुनै प्रमाण नै जारी नगरी बक्यौता रहेको भन्दै ठूला केही उद्योगको बिजुली काट्नतर्फ लागेपछि समस्या पुनः चर्किएको हो।