काठमाण्डौ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले ठूलो संख्या रोजगारी तथा स्वरोजगारी सिर्जना गर्ने महत्वपूर्ण माध्यम घरेलु तथा साना उद्योगलाई प्रवर्द्धन गर्ने सरकारको स्पष्ट नीति रहेको बताएका छन्।
नेपाल घरेलु तथा साना उद्योग महासंघको प्रतिनिधिमण्डलसँग अर्थमन्त्रालयमा कुरा गर्दै अर्थमन्त्री पौडेलले यसको निम्ति कानुन, नियम, निर्देशिका तथा निर्णयहरुमा ध्यान दिनुपर्ने कुराहरुमा ध्यान दिने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
महासंघका अध्यक्ष उमेशप्रसाद सिँहको नेतृत्वमा गएको प्रतिनिधिमण्डलसँग पौडेलले भने, ‘घरेलु तथा साना उद्योगको महत्व भनेकै देशका सबै जिल्ला, सबै पालिकामा यसको विस्तार हुनु हो । ठूलो संख्यामा रोजगारीका रुपमा यो क्षेत्रमा आवद्ध रहेको छ । यसलाई अझै विस्तार गर्न सक्ने सम्भावना छ । यो क्षेत्र स्वरोजगारीका लागि पनि महत्वपूर्ण माध्यम हो । त्यसैले घरेलु तथा साना उद्योगलाई प्रवर्द्धन गर्ने सरकारको स्पष्ट नीति छ । त्यसकारण यो क्षेत्रसँग सम्बन्धित कानुन, नियम, निर्देशिकामा के कस्ता व्यवस्था गर्नुपर्छ त्यसमा सरकारले ध्यान दिन्छ ।’
सरकारले निजी क्षेत्रको आत्मविश्वास र मनोबल बढाउने उद्देश्यसाथ काम गरिरहेको बताउँदै उनले भने ,‘अहिले हामीले उत्पादनको अवस्था के छ, रोजगारीको अवस्था के छ, समस्याहरु के छ एकपछि अर्को जानकारी लिने र छलफल गर्ने काम भइरहेको छ । हाम्रो कोशिस भनेकै तपाइहरुलाई आफ्नो पेशा, व्यवसाय र उत्पादनमा लाग्न सक्ने परिस्थिति निर्माण गर्ने कुरामा हाम्रो ध्यान केन्द्रित छ । त्यसमा हामी केही न केही गर्छौं ।’
सरकारको ध्यान सबैलाई उत्साहकासाथ आफ्नो पेशा, व्यवसाय र उत्पादनमा लाग्नसक्ने परिस्थिति निर्माण गर्नमा रहेको पौडेले बताए ।
औद्योगिक तथा लगानी प्रवद्र्धन कोष सञ्चालन कार्यविधिलाई छिटो अगाडि बढाइने आश्वासन दिंदै अर्थमन्त्री पौडेलले अन्तराष्ट्रिय प्रदर्शनी, निर्यात गृह सञ्चालन गर्ने कुरामा व्यवस्थित रुपमा कसरी सञ्चालन गर्ने छलफल गर्न आवश्यक रहेको औल्याए ।
महासंघका अध्यक्ष उमेश प्रसाद सिँहले मुलुकको अर्थतन्त्रको संवाहकका रुपमा रहेका लघु, घरेलु तथा साना उद्योगहरु विभिन्न कालखण्डमा विभिन्न समस्याहरुबाट प्रताडित हुँदै आएको बताउँदै पछिल्लो कालखण्डमा २०७२ को विनासकारी भूकम्प, २०७६ देखि कोरोना महामारी आदिका कारण यस्ता उद्योगहरु धरापमा परेकोतर्फ ध्यानाकर्षण गराए ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                