सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा धादिङका रमेश आचार्यलाई नियुक्त गर्ने निर्णय गरेको छ। सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारको सचिवालयले जनाएको छ।
प्रमुख कार्यकारी अधिकृतको लागि दरखास्त आह्वान भएअनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अन्तिम निर्णयका लागि मन्त्रिपरिषद्मा तीन जना प्रतिस्पर्धीको नाम सिफारिस गरेको थियो।
जसअनुसार सिफारिस समितिले आचार्यसहित तनहुँका डिल्लीराम लम्साल र भक्तपुरका गोपीकृष्ण न्यौपानेको नाम अन्तिम निर्णयार्थ मन्त्रिपरिषद्मा पठाएको हो। आवेदन भने कुल १८ जनाले दिएका थिए।
जसमध्ये लम्साल हाल खाद्यमै निमित्त प्रमुख कार्यकारी अधिकृत रहेका छन्। उनी अकुत आर्जनको आशङ्कामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा रहेका व्यक्ति हुन्।
यसैगरी मन्त्रिपरिषद्को सोमबार बसेको बैठकमा कर्मचारीको तलब समायोजनबारे छलफल भए पनि कुनै निर्णय नभएको जनाइएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।