काठमाण्डौ । चीनको केन्द्रीय बैंकसँग भएको सुनको भण्डारण लगातार ५ महिनादेखि स्थिर रहेको छ । पहेँलो धातुको सुनको मूल्य वृद्धिका कारण सुनको भण्डारण स्थिर रहेको सोमबार जारी गरिएको तथ्याकंमा देखिएको हो ।
सेप्टेम्बर महिनामा चीनको केन्द्रीय बैंकमा ७२.८ मिलियन ट्रोय औंस सुन रिजर्भ रहेको छ । यद्यपी सुनको मूल्य बढेका कारण रिजर्भ सुनको मूल्य भने अगस्ट महिनामा रहेको १८२.९८ अर्ब डलरबाट बढेर १९१.४७ अर्ब डलर पुगेको छ ।
यो वर्ष सुनको मूल्य २८ प्रतिशतले बढिसकेको छ । सुनका
मूल्य यतिबेला १४ वर्षकै उच्च वार्षिक वृद्धितर्फ उन्मुख भईरहेको छ । अमेरिकी केन्द्रीय बैंकको ब्याज कटौती, भू–राजनीतिक तनाव र विश्वका केन्द्रीय बैंकको मागका कारण यति बेला सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ ।
सन् २०२२–२०२३ मा सक्रिय रुपमा सुन खरिद गरेका विश्वका केन्द्रीय बैंकले सन् २०२३–२४ मा भने सुनको मागमा कमी ल्याउन सुरु गरेका छन् ।
सन् २०२३ मा विश्वका केन्द्रीय बैंक सर्वाधिक सुन खरिदकर्ताको रुपमा रहेका थिए ।