काठमाण्डौ । पोखरामा दशैंका दिन निःशुल्क बस सेवा सञ्चालन हुने भएको छ । यो दिन यात्रुको चाप बढी हुने पोखराका विभिन्न ७ रुटमा निःशुल्क बस सेवा सञ्चालन गर्ने तयारी भएको हो ।
यो सेवा जिल्ला प्रशासन कार्यालय कास्कीको समन्वयमा पोखराका यातायात व्यवसायी र पोखरा महानगरले सञ्चालन गर्न लागेका हुन् ।
यो सेवा बिहान ७ बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुनेछ । जिल्ला प्रशासन कार्यालय कास्कीले बुधबार पत्रकार सम्मेलन गर्दै विभिन्न यातायात व्यवसायीको संयुक्त प्रयासमा ७ वटा रुटमा ३२ सिटमाथिका १८ वटा बसले दशैंको दिन निःशुल्क सेवा दिने जनाएको हो ।
दशैंका दिन यात्रुहरुको चहलपहल धेरै हुने र भनेको समयमा गाडी नपाइने समस्यालाई सम्बोधन गर्न निःशुल्क बस सेवा दिइन लागेको उक्त पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । यस्तै उक्त दिन क्षमताभन्दा बढी यात्रु बोक्ने र बढी भाडा असुल्नेलाई कारवाही समेत गरिने जनाइएको थियो ।