काठमाण्डौ ।राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने अन्ततः सहकारी ठगी आरोपमा पक्राउ परेका छन् ।
केहीबेरअघि चमतिस्थित रास्वपा पार्टी कार्यालयबाट प्रहरीको विशेष अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछानेलाई पक्राउ गरेको हो ।
यसअघि जिल्ला अदालत कास्कीले शुक्रबार नै जिल्ला प्रहरी कार्यालय कास्कीलाई रवि लामिछानेसहित १४ जनाविरद्ध पक्राउ पूर्जी जारी गर्दै अनुसन्धान अघि बढाउन अनुमति दिएको थियो । अदालतबाट अनुमति आएलगत्तै रास्वपाको केन्द्रीय पार्टी कार्यालय पुगेको प्रहरी टोलीले लामिछानेलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नुअघि लामिछानेले पार्टी कार्यालयमा भेला भएका कार्यकर्ता तथा समर्थकहरुलाई सम्बोधन गरेका थिए ।
सम्बोधनपछि लामिछाने प्रहरी नियन्त्रणमा पुग्ने क्रममा समर्थक तथा कार्यकर्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेका थिए ।