काठमाण्डौ । नेपालले भोलि (शुक्रबार)देखि बंगलादेशलाई विद्युत बिक्री गर्ने भएको छ । गत असोज १७ गते भएको त्रिपक्षीय सम्झौताअनुसार नेपालले ४० मेगावाट बिजुली बंगलादेश निर्यात गर्ने भएको हो ।
शुक्रबार करिब ११ घण्टामात्रै बिजुली बिक्री गर्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार शुक्रबार राति १२ बजेसम्म बिद्युत बिक्री गर्दा ३८ लाख ३२ हजार रुपैयाँ आम्दानी हुनेछ । बंगलादेशलाई विद्युत निर्यात गर्दा प्रतिमहिना करिब ३३ करोड रुपैयाँ आम्दानी हुने प्राधिकरणले जनाएको छ ।
शुक्रबार नेपाल, भारत र बंगलादेशका तीनवटै उर्जामन्त्रीले भर्चुअल माध्यमबाट उद्घाटन गरी बिजुली निर्यात गरिने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । घिसिङका अनुसार भारतले स्वीकृति दिइसकेकाले भोलि नै भर्चुअल माध्यमबाट उद्घाटन गरेर बंगलादेश विद्युत पठाउने तयारी गरिएको हो ।
दुई आयोजनाको विद्युत बंगलादेशलाई बिक्री गर्न भारतले सहमति दिएको प्राधिकरणले जनाएको छ । कुल ५ महिनामा १ लाख ४४ हजार मेगावाट आवर बिजुली निर्यात गर्ने प्राधिकरणले जनाएको छ । प्रतियुनिट ६.४० अमेरिकी सेन्टका दरले ५ महिनामा ९२ लाख १६ हजार अमेरिकी डलर आम्दानी हुने प्राधिकरणको अनुमान छ ।
प्राधिकरणले २५ मेगावाटको त्रिशुली र सहायककम्पनीमार्फत निर्माण गरिएको २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली बंगलादेशलाई बिक्री गर्ने जनाएको छ ।