बिहीबार, श्रावण १४,२०८३ 11:00:05
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 11:00:05
Bizshala
Global IME Bank Limited

नेप्सेमा कर्णाली डेभलपमेन्ट बैंकको तमासा, विज्ञ भन्छन्-'कारोबार हल्ट गरेर सोझालाई फस्नबाट जोगाइनुपर्छ'

नेप्सेमा कर्णाली डेभलपमेन्ट बैंकको तमासा, विज्ञ भन्छन्-'कारोबार हल्ट गरेर सोझालाई फस्नबाट जोगाइनुपर्छ'
New Office

काठमाण्डौ । बैंकले तोकेबमोजिम पूँजीकोष अनुपात कायम नहुने, निस्क्रिय कर्जा अनुपात ४०.८५ प्रतिशत कायम हुने लगायतका कारण देखाउँदै मंसिर ११, २०८१ मा नेपाल राष्ट्रबैंकले कर्णाली डेभलपमेन्ट बैंकको वित्तीय अवस्था समस्याउन्मुख देखिएको निश्कर्ष निकाल्दै निक्षेपकर्ता र सर्वसाधारणको हित संरक्षणका लागि सो संस्थालाई शीघ्र सुधारात्मक कारबाही गरिएको प्रष्ट पार्यो । सो क्रममा केन्द्रीय बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई ६ महिनाभित्र संस्थाको नयाँ व्यवस्थापनले उक्त संस्थाको वित्तीय परिसूचकहरुमा सुधार गर्ने शर्तमा थप निक्षेप संकलन गर्न, नयाँ निक्षेप खाता खोल्न र थप कर्जा प्रवाह गर्न रोक लगाउने घोषणा गरेको थियो । 

केन्द्रीय बैंकको शीघ्र सुधारात्मक कारबाहीमा परेको कर्णाली डेभलपमेन्ट बैंकको सेयर कारोबार सोही दिन वा त्यसको भोलिपल्ट(बुधबार) नेपाल स्टक एक्सचेञ्जले रोक्ला भन्ने धेरैलाई लागेको थियो । तर, नेप्सेले धेरैले अपेक्षा गरेजस्तो कर्णाली डेभलपमेन्ट बैंकको कारोबार रोकेन । उल्टो बुधबार सबैलाई आश्चर्यमा पार्दै कारोबारका क्रममा गम्भीर नियामकीय कारबाहीमा परेको यो कम्पनीको दोश्रो बजारमा मूल्य बढेर अपर सर्किट लाग्न पुग्यो । केही ब्रोकर र लगानीकर्ता मिलेर यो कम्पनीमा नियोजित रुपमा अपर सर्किट लगाइदिए । बजारको लय बिगारिदिए ।  

वित्तीय अवस्था टाट पल्टिने अवस्थामा पुगेको कम्पनीकै मूल्यमा अपर सर्किट लागेपछि नेपालको सेयर बजारको परिपक्वता, पारदर्शिता र नियमनको विषयमा प्रश्नहरु उठेका छन् । कारोबार हल्ट हुनुपर्ने वा शीघ्र सुधारात्मक कारबाहीमा परेपछि लोअर सर्किट लाग्नुपर्ने अवस्थामा कम्पनीको मूल्यमा उल्टो अपर सर्किट लाग्नुलाई धेरैले अस्वस्थ र अपरिपक्व बजारको उदाहरणको रुपमा प्रस्तुत गरेका छन् । कतिपयले त पछिल्लो समय नेपालको सेयर बजारमा निश्चित समूहहरुले कसरी खराब अवस्थाका कम्पनीमा खेलिरहेका छन् र मूल्य बढाएर सोझालाई फसाइरहेका छन् भन्ने विषय समेत प्रष्टिने जिकिर गरिरहेका छन्।  

सेयर बजार यदि माग र आपूर्तिको सही नियमले चल्ने भएको भए यो कम्पनीको सेयरमूल्यमा आज खरिद गर्ने कोही पनि नभेटिएर नकारात्मक सर्किट लाग्नुपर्ने थियो, तर उल्टो भयो । अझै अचम्म के छ भने यो कम्पनीको सेयर अपर सर्किटमा झण्डै २५ करोड भन्दा बढीको सेयर कारोबार भएको छ । यस कम्पनीको उच्च कारोबार गर्नेहरुमा पछिल्लो समयका चिरपरिचित ब्रोकर नम्बर ४१, ७२ र ७४ रहेका छन् । ब्रोकर होल्डिङमा पनि यिनै कम्पनीको उच्च होल्डिङ रहेको देखिन्छ । 

पूँजीबजारको प्रमुख नियामक नेपाल धितोपत्र बोर्डका पूर्व कार्यकारी निर्देशक निरज गिरीले राष्ट्रबैंकले ६ महिनाका लागि कर्णाली डेभलपमेन्ट बैंकलाई थप निक्षेप संकलन गर्न, नयाँ निक्षेप खाता खोल्न र थप कर्जा प्रवाह गर्न रोक लगाउनुलाई गम्भीर कारबाहीको रुपमा व्याख्या गर्दै यस्तो अवस्थामा फ्रन्टलाइन रेगुलेटर नेप्सेले सो कम्पनीको कारोबार हल्ट गर्नुपर्नेमा त्यस्तो नभएकोमा आश्चर्य प्रकट गरे । '६ महिनासम्म थप कारोबार नै गर्न नपाइने गरी कारबाही हुनु भनेको प्राइस सेन्सेटिभ विषय हो, यो निकै सिरियस इस्यू हो । यस्तोमा स्टक एक्सचेञ्जले कारोबार हल्ट गर्नुपथ्र्यो । त्यो नभएर उल्टो अपर सर्किट लाग्नु बिडम्बनापूर्ण भयो ।' गिरीले बिजशालासँग भने-'गम्भीर कारबाहीमा परेको सूचीकृत कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्छ भन्नुको अर्थ केही गडबडी भयो भनेर बुझ्नुपर्ने हुन्छ । यसले हाम्रो सेयर बजार परिपक्व छैन भन्ने पनि देखाउँछ ।'  

उनले कतिपय लगानीकर्ता पछिल्लो समय बुद्धिमतापूर्वक लगानीभन्दा पनि हल्लाको पछाडि लागेर आफ्नो पैसा खन्याइरहेका र यस्तो प्रवृतिको पछिल्लो उदाहरण कर्णाली डेभलपमेन्ट बैंकमा आज लागेको अपर सर्किट रहेको दाबी गरे । 'साच्चिकै इन्भेष्टमेन्ट गर्ने बजारमा हुन्थे भने यति ठूलो नेगेटिभ न्यूज आउँदा लोअर सर्किट लाग्नुपर्नेमा यहाँ त उल्टो भएको छ ।' उनले थपे-'पोजिटिभ सर्किट लाग्यो भन्नुको अर्थ खेल्नेले खेल्ने कोशिश गरेको रुपमा बुझ्नुपर्छ ।'  

बजार जानकार चन्द्रनारायण घिमिरेको भनाईमा नेपालको सेयर बजार आधारभूत रुपमा भन्दा पनि प्राविधिक रुपमा चलेको छ । गोर्खा फाइनान्समा पनि त्यस्तै भएको  थियो । 'पछिल्लो समय जुन कम्पनीको पूँजी कम छ, त्यसमै खेलाडीहरुले खेलिरहेका छन् । कर्णालीमा आज सर्किट लाग्नुको कारण खेलाडीले सेयर बेचेर निस्किन नै हो । त्यसैले यस्तो कम्पनीबाट साना र सोझो फस्ने डर हुन्छ ।' उनले भने-'त्यसैले साना लगानीकर्ता यसबाट सजग रहनुपर्छ । घिमिरेको भनाईमा यो हावा भरिएको बेलुनजस्तै हो, जुनै पनि बेला फुट्न सक्छ ।'  

अर्का बजार जानकार टेकेन्द्र थपलियाले पनि यस्ता कम्पनीमा खेलाडीले कर्नरिङ गरेका कारण जुनसुकैबेला फेरि नेगेटिभ सर्किट लाग्नसक्ने सम्भावना देख्छन् ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.