काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलको मूल्य वृद्धि गरेको छ भने डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगमले मंसिर ३० गते राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढाएको हो ।
इण्डियन आयल कर्पोरेशनबाट पेट्रोलको मूल्य प्रतिलिटर २.२८ रुपैयाँ बढेको र डिजेलमा प्रतिलिटर १.४८ रुपैयाँ घटेकाले मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।
निगममले डिजेल र मट्टितेलको मूल्य भने घटाएको छ । डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाइएको छ ।
यससँगै पहिलो वर्गका लागि पेट्रोलको मूल्य प्रतिलिटर १५९.५० रुपैयाँ, दोस्रो वर्गका लागि प्रतिलिटर १६१ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १६२ रुपैया कायम भएको छ ।
यसैगरी, डिजेल र मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर १४८.५० रुपैयाँ, दोस्रा वर्गका लागि प्रतिलिटर १५० रुपैयाँ र तेस्रो वर्गका लागि १५१ रुपैयाँ निर्धारण गरिएको छ ।
पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज रहेका छन् । दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायल रहेका छन् ।