काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत ७ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । आज कृषि विकास बैंक, महालक्ष्मी विकास बैंक,मितेरी डेभलपमेन्ट बैंक,चिलिमे जलविद्युत कम्पनी, छिमेक लघुवित्त,आत्मनिर्भर लघुवित्त र जीवन विकास लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो ।
यी कम्पनीहरुले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि पुस १६ गते बुक क्लोज गदैछन् । पुस १५ गत तमु ल्होसारको सार्वजनिक बिदा परेकाले आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै यी कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।
कृषि विकास बैंकले गत आवका लागि सेयरधनीहरुलाई ३ प्रतिशत बोनस सेयर र ७.५३ प्रतिशत नगद गरी कुल १०.५३ प्रतिशत लाभांशको प्रस्ताव गरेको छ । यस्तै महालक्ष्मी विकास बैंकले ३ प्रतिशत बोनस सेयर ४ प्रतिशत नगद लाभांश गरी कुल ७ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।
मितेरी डेभलपमेन्ट बैंकले पनि सेयरधनीहरुलाई ९.५०७९ प्रतिशत बोनस सेयर र ०.५००४ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल १०.००८३ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ ।
चिलिमे जलविद्युत कम्पनीले पनि हाल कायम चुक्तापूँजीको १० प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि समेत) गरी कुल १२ प्रतिशत लाभांशको प्रस्ताव गरेको छ ।
छिमेक लघुवित्तले ८ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद(करसहित)लाभांश प्रदान गर्ने भएको छ । आत्मनिर्भर लघुवित्तले आव २०८०/८१ सम्मको मुनाफाबाट १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।
यसैगरी जीवन विकास लघुवित्तले १४ प्रतिशत बोनस सेयर र ०।७३८५ प्रतिशत नगद लाभांश गरी कुल १४।७३८५ प्रतिशत लाभांशको घोषणा गरेको छ ।