काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत ३ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । आज बुटवल पावर कम्पनी, गरिमा विकास बैंक र नेपाल टेलिकमको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो ।
यी कम्पनीहरुले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि पुस १८ गते बुक क्लोज गदैछन् । यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै यी कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।
बुटवल पावर कम्पनीले गत आवका लागि ५ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको छ । कम्पनीले लाभांशको प्रस्ताव पारित गर्न पुस २८ गते काठमाण्डौको बबरमहलमा रहेको कार्की ब्याङक्वेटमा बिहान ११ बजेदेखि सभा डाकेको छ ।
यस्तै गरिमा विकास बैंकले पनि गत आवका लागि प्रस्तावित ५ प्रतिशत नगद प्रदान गर्ने निर्णय गरेको छ । बैंकको प्रस्तावित लाभांश आगामी पुस २९ गते पोखरामा रहेको होटल पोखरा ग्राण्डमा आयोजना हुने १८ औं साधारण सभाबाट पारित गरी वितरण गरिनेछ ।
नेपाल टेलिकमले गत आवका लागि सेयरधनीहरुलाई प्रतिसेयर ३० रुपैयाँ नगद लाभांश(कर समेत) घोषणा गरेको छ । कम्पनीको १७ औं साधारण सभा पुस २८ गते काठमाण्डौको राष्ट्रिय सभा गृहमा आयोजना हुँदैछ ।