काठमाण्डौ । अमेरिकी राष्ट्रपति जो बाइडेनले जापानिज कम्पनी निप्पोन स्टिललाई अमेरिकी कम्पनीलाई खरिद गर्न रोक लगाएका छन् । बाइडेनले अमेरिकी राष्ट्रिय सुरक्षालाई मध्यनजर गर्दै निप्पोन स्टिललाई अमेरिकी कम्पनी युएस स्टिललाई खरिद गर्न रोक लगाएका हुन् ।
बाइडेनले अमेरिकी स्टिल उद्योग र आपूर्ति श्रृंखलालाई बलियो बनाउन अमेरिकी स्वामित्व हुनुपर्ने भएकाले यस्तो कदम चाल्नु परेको बताएका छन् । अमेरिकी स्टिल उद्योग कामदार संघको चर्का दबाबका कारण बाइडेनले जापानको कम्पनीको खरिदमा हस्तक्षेप गर्नु परेको बताइएको छ ।
जापान सरकारले भने बाइडेनको यो कदमलाई बुझ्न नसकिने खालको बताएको छ । उता निप्पोन स्टिल र युएस स्टिलले भने राजनीतिक फाइदाका लागि यस्तो गरिएको आरोप लगाएका छन् ।
यी दुवै कम्पनीले खरिद सम्झौता नभए कानूनी अधिकार रक्षाका लागि सरकारमाथि मुद्दा हाल्ने बताएका थिए ।