काठमाण्डौ । दक्षिण कोरियाली कम्पनी हुन्डाई मोटर ग्रुपले यो वर्ष रेकर्डतोड लगानी गर्ने भएको छ । कम्पनीले यो वर्ष घरेलु लगानीलाई १९ प्रतिशतले बढाउने घोषणा गरेको छ ।
आर्थिक र राजनीतिक अनिश्चितता का बीच भविष्यको वृद्धिका लागि ग्रुुपले एक वर्षको अवधिमा १६.६५ अर्ब डलर(२४.३ ट्रिलियन कोरियन वन)बराबरको लगानी गर्ने योजना बनाएको हो ।
हुन्डाई मोटर ग्रुपमा हुन्डाई मोटर र किया कर्प रहेका छन् । यो ग्रुप कार बिक्रीको मामिलामा विश्वकै तेस्रो स्थानमा रहेको छ । ग्रुप टोयोटा मोटर र भोल्सवागेनभन्दा मात्रै पछि रहेको छ ।
हुन्डाई मोटर ग्रुपको लगानी योजनाअनुसार ११.५ ट्रिलियन वन नेक्स्ट जेनेरेशन प्रडक्ट,विद्युतीकरण,सफ्टवेयरमा आधारित सवारी,हाईड्रोजनबाट चल्ने सवारी र अन्य प्रविधिको विकास र अनुसनधानका लागि खर्च गरिनेछ । यस्तै १२ ट्रिलियन वन भने साधारण लगानी जस्तै विद्युतीय सवारी उत्पादनका लागि उत्पादन लाइनलाई मिलाउन र नयाँ मोडलका कार निर्माण गर्न उपयोग गरिनेछ ।
ग्रुपले ८०० अर्ब वन भने स्वचालित सवारी जस्तो रणनीतिक लगानीको रुपमा खर्च गर्ने योजना बनाएको छ ।
‘हुन्डाई मोटरले यो वर्ष दक्षिण कोरियामा हालसम्मकै उच्च लगानी गर्नेछ । किनकी ग्रुपले संकट र भविष्यको वृद्धिका लागि निरन्तर स्थायी लगानीमा विश्वास गर्ने गर्छ,’ हुन्डाई मोटर ग्रुपले उल्लेख गरेको छ ।
गत साता हुन्डाई मोटर ग्रुपका कार्यकारी अध्यक्ष ईयुसन चुवाङले आर्थिक मन्दी र विश्व भू–राजनीतिक तनावलाई कम्पनीको बाह्य जोखिमको रुपमा व्याख्या गरेका थिए ।
हुन्डाई मोटर ग्रुपले हालसम्मै उच्च लगानी गर्ने घोषणा गरेसँगै हुन्डाई मोटर र कियाको मूल्य क्रमशः२.३ र ३.८ प्रतिशतले बढेको छ ।