काठमाण्डौ । कामना सेवा विकास बैंकले नेपाल राष्ट्र बैंकवाट अविमोच्य अग्राधिकार सेयर जारी गर्न स्वीकृती प्राप्त गरेको छ । बैंकले आफ्नो १८ औं वार्षिक साधारण सभावाट अग्राधिकार सेयर जारी गर्ने सम्वन्धी प्रस्ताव पारित गरि स्वीकृतीको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गरेको थियो ।
नेपाल राष्ट्र बैंकले मंगलवार अग्राधिकार सेयर जारी गर्नको लागि स्वीकृती प्रदान गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए । नेपाल राष्ट्र बैंकले गत वर्षको मौद्रिक नीतिको तेश्रो त्रैमासिक समिक्षामा गरेको व्यवस्थाबमोजिम बैंक तथा वित्तीय संस्थाहरुलाई पूँजीकोष सवलीकरण गर्नको लागि हकप्रद सेयरको विकल्पको रुपमा गत असार १२ गते सर्कुलर जारी गर्दै अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्न बाटो खुलाएको थियो ।
नेपाल राष्ट्र बैंकले अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्न बाटो खुलाएसँगै बैंकले गत असार १७ गते नै ९ प्रतिशत प्रतिफल दर तोकेर ३५ लाख कित्ता अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने निर्णय गरेको थियो । उक्त अग्राधिकार सेयर जारी गरे पश्चात बैंकको पूँँजीकोष वढ्न गई व्यवसाय विस्तारको अवसर बढ्न जानेछ । हालको बजारको तरलताको अवस्था र प्रतिफलको दरलाई हेर्दा संस्थागत लगानीकर्ताहरुलाई ९ प्रतिशत लाभांश प्रदान गर्ने अग्राधिकार सेयर लगानीको उचित माध्ययम हुने बैंकले जनाएको छ ।
अब, नेपाल धितोपत्र बोर्डको स्वीकृतीपश्चात उक्त अविमोच्य असञ्चिति अग्राधिकार सेयर बिक्रीको लागि आह्वान हुने र सम्बन्धीत नियामकिय निकायको स्वीकृतीपश्चात स्टक एक्सचेञ्जमा सुचिकृत हुने बैंकका प्रमुख कार्यकारी अधिकृत थकालीले बताए ।