काठमाण्डौ । श्वेत गंगा हाईड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको नाफामा उल्लेख्य सुधार आएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले १० करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी २ लाख ५३ हजार रुपैयाँ घाटामा थियो ।
कम्पनीले बिद्युत बिक्रीबाट ५१ करोड २६ लाख रुपैयाँ आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १०.८५ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले विद्युत बिक्रीमार्फत ४६ करोड २४ लाख रुपैयाँ आर्जन गरेको थियो । कम्पनीको वित्त आम्दानी ३ लाख १६ हजार रुपैयाँ रहेको छ । यो अवधिमा कम्पनीको प्रशासनिक तथा अन्य सञ्चालन खर्च १३ करोड ६ लाख रुपैयाँ र वित्त खर्च २२ करोड ५४ लाख रुपैयाँ रहेको छ ।
कम्पनीको रिटेन्ड अर्निङ ३४ करोड २१ लाख रुपैयाँले ऋणात्मक र रिजर्भको आकार भने २१ लाख ७७ हजारले धनात्मक रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)६.४४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ७८.६६ रुपैयाँ,तरलता अनुपात ०.५२ प्रतिशत र मूल्य आम्दानी अनुपात ७९.६७ गुणा कायम भएको छ ।