काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफा सामान्य बढेको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म २५ करोड ७३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा २.४८ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले २५ करोड ११ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीले समीक्षा अवधिसम्म ६३ करोड ७६ लाख रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधकिो तुलनामा १५.६३ प्रतिशतले बढी हो । कम्पनीले अघिल्लो आवको दोस्रो त्रैमाससम्ममा ५५ करोड १४ रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको थियो । कम्पनीको अन्य आम्दानी १ करोड ८६ लाख र लगानी तथा कर्जा आम्दानी १७ करोड १२ लाख रुपैयाँ रहेको छ ।
कम्पनीको कुल आम्दानी १ अर्ब १६ करोड रुपैयाँ रहेको छ । यो अवधिसम्म कम्पनीले ३८ करोड २६ लाख रुपैयाँबराबरको खुद दाबी भुक्तानी गरेको छ ।
दोस्रो त्रैमाससम्म कम्पनीले ७९ करोड ७८ लाख रुपैयाँबराबरको कुल खर्च गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले ७३ करोड ९० लाख रुपैयाँबराबरको कुल खर्च गरेको थियो । कम्पनीको महाविपत्ती कोषको आकार १५ करोड १० लाख र रिटेन्ड अर्निङ ४० करोड ७ लाख रुपैयाँबराबर रहेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) १९.३९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २१२.११ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ५३१.०५ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४०.९० गुणा कायम भएको छ ।