काठमाण्डौ । नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि ३ जनाको नाम सिफारिस भएको छ । अध्यक्ष पदपूर्तिका लागि गठित सिफारिस समितिले सर्टलिस्टमा परेका ५ जनामध्येबाट ३ जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको हो ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीको नेतृत्वमा गठन भएको सिफारिस समितिले शरद ओझा, रामशरण पूडासैनी र दामोदर बसौलाको नाम सिफारिस गरेको हो ।
बीमा प्राधिकरणको अध्यक्षका लागि १२ जनाले आवेदन दिएका थिए । सिफारिस समितिले फागुन ४ गते आवेदकमध्येहरुबाट ५ जनाको नाम सर्टलिस्ट गरेको थियो । सर्टलिस्टमा परेका आवेदकमध्ये कमलप्रसाद रेग्मी र चिरञ्जिवी चापागाई अन्तिम ३ को सूचीमा अटाउन सकेनन् ।
सर्टलिस्टमा परेका ५ जनालाई व्यावसायिक कार्ययोजनाको प्रस्तुतिकरण र अन्तरवार्ताका लागि गत फागुन १० गते बोलाइएको थियो । सोही आधारमा शरद ओझा, रामशरण पुडासैनी र दामोदर बसौलाको नाम अन्तिम चरणको छनौटका लागि सिफारिस भएको हो ।
मन्त्रिपरिषदको बैठक आज साँझ ५ बजे प्रधानमन्त्री निवास, बालुवाटारमा बस्दैछ । यही बैठकले यी ३ मध्ये १ जनालाई प्राधिकरणको अध्यक्ष नियुक्त गर्न सक्ने सम्भावना उच्च रहेको छ ।
को–को पर्लान् ३ जनाभित्र ?
उच्च स्रोतहरुका अनुसार कर्मकाण्डको रुपमा मात्र कार्ययोजना प्रस्तुतिकरण र अन्तर्वार्ता राखिएको थियो । अन्तिम चरणको छनौटका लागि ३ जनाको नाम यसअघिनै तय भएको स्रोतको दाबी छ ।
यी तीनमध्ये एमालेको तर्फबाट रामशरण पूडासैनी अध्यक्ष बन्ने सम्भावित पात्र हुन् भने कांग्रेसकोतर्फबाट शरद ओझा सम्भावित पात्र हुन् । पूडासैनी अर्थमन्त्री विष्णु पौडेल निकट मानिन्छन् भने ओझा चाहि पेशाले पत्रकार भए पनि कांग्रेस सभापति शेरबहादुर देउवाका पुरोहितका छोरा हुन् ।