काठमाण्डौ । बिहिबारको कारोबारेमा अधिकांश एशियाली सेयर बजार वृद्धि भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही निश्चित अटो निर्माताहरुका लागि ट्यारिफ स्थगित गरेकाले आज अधिकांश एशिया–प्यासेफिक क्षेत्रका सेयर बजारमा वृद्धि देखिएको हो ।
ट्रम्पले एक महिनाका लागि अटो कम्पनीहरुका लागि ट्यारिफको निर्णय स्थगित गर्ने बताएका छन् ।
आज जापानको सेयर बजार मापक निक्की२२५ इन्डेक्स ०.८४ प्रतिशत अर्थात ३१३ अंकले बढेको छ । यससँगै निक्की ३७ हजार ७३२ को विन्दुमा पुगेको छ ।
यस्तै टोपिक्स पनि १.३ प्रतिशतले बढेको छ । जापानको सरकारी बोण्डको प्रतिफल बढेको छ । जापानको १० वर्षे बोण्डको प्रतिफल सन् २००९ पछिकै उच्च कायम भएको छ ।
यस्तै आज दक्षिण कोरियाको कोस्पी इन्डेक्स पनि ०.७० प्रतिशतले बढेको छ । यससँगै कोस्पी इन्डेक्स २ हजार ५७६ विन्दुमा पुगेको छ । साना कम्पनीहरुको कारोबार हुने दक्षिण कोरियाको कोस्डाक भने आज ०.७५ प्रतिशतले घटेको छ ।
दक्षिण कोरियाको मुद्रास्फिती फेब्रुअरीमा २ प्रतिशतले बढेको छ ।
हङकङको हाङसेङ इन्डेक्स पनि आज २.४७ प्रतिशतले बढेको छ । यस्तै चीनको सीएसआई३०० इन्डेक्स पनि ०.६ प्रतिशतले उकालो लागेको छ ।