काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा म्युचुअल फण्डप्रति लगानीकर्ताको मोह हराउँदै गइरहेको छ । फण्डहरुको खस्किँदो वित्तीय अवस्था र लगानीकर्तालाई बाँड्ने प्रतिफल घट्दै जानुले म्युचुल फण्डमा लगानीकर्ता त्यति आकर्षित देखिँदैनन् ।
फण्डहरुको वार्षिक रुपमा वितरण हुने एवरेज लाभांश भनेको १० देखि २० प्रतिशतसम्म हो । पछिल्लो समयमा फण्डहरुले १० प्रतिशतमाथि लाभांश बाँड्नु पनि राम्रै मानिन्छ ।
फण्डहरुले लगानीकर्ताबाट उठेको रकम सूचीकृत सेयर, ऋणपत्र÷बण्ड र आइपीओ तथा हकप्रद सेयरमा लगानी गर्दछन् । त्यसबाट नाफा आर्जन भए त्यसकै आधारमा फण्डहरुले लगानीकर्तालाई वर्षेनी प्रतिफलका रुपमा नगद लाभांश बाँड्ने गर्दछन् । तर यदि फण्डहरु घाटामा गए लगानीकर्तालाई रिटर्न दिनैपर्छ भन्ने ग्यारेन्टी भने हुँदैन । यसकारण पनि पछिल्लो म्युचुअल फण्डमा लगानीकर्ताहरु लगानी गर्न हिच्किचाउने गर्छन् ।
म्युचुअल फण्डमा लगानी गर्दा त्यसबाट पााइने रिटर्न भन्दा बैंकको मुद्दती निक्षेपमा लगानी गर्दा बढी फाइदा हुने लगानीकर्ताहरुको भनाई छ । बैंक वित्तीय संस्थाको मुद्दती निक्षेपको ब्याजदर भन्दा फण्डहरुले बाँड्ने नगद लाभांश कम हुँदा फण्डमा त्यति आकर्षण नदेखिएको बजार जानकारहरु बताउँछन् ।
म्युचुअल फण्डहरुबाट लगानीकर्ताले १० प्रतिशतभन्दा बढी लाभांश अपेक्षा राख्दछन् । तर हाल सञ्चालनमा रहेका ४३ वटा फण्डमध्ये गत आवको मुनाफाबाट तीनवटा फण्डले मात्रै लगानीकर्तालाई १० प्रतिशतभन्दा बढी लाभांश बाँडेका थिए । जसमा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३, हिमालयन ८०–२० र प्रभु स्मार्ट फण्ड रहेका छन् ।
लगानीकर्ताहरुले म्युचुअल फण्डमा लगानी गरेपछि वर्षेनी २० देखि ३० प्रतिशतसम्म रिटर्नको आशा गरेका हुन्छन्, तर यो आशा अवास्तविक हो । म्युचुअल फण्डको प्रतिफल समग्र बजारको प्रदर्शनमा निर्भर हुन्छ । अहिलेको अवस्थामा म्युचुअल फण्डहरुको १० प्रतिशतभन्दा बढी प्रतिफल भनेको उत्कृष्ट नै मान्न सकिन्छ । यदि निश्चित रिटर्न खोज्ने हो भने म्युचुअल फण्ड सेक्टर उपयुक्त नहुन सक्छ । तर यो फण्डमा लगानी गर्दा केही प्रतिशत भएपनि रिटर्न पाइने र लगानी पनि सेक्युअर हुने सम्भावना बढी रहन्छ ।
चालु आवको लागि सबैभन्दा बढी लाभांश सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ ले बाँडेको थियो । सो फण्डले लगानीकर्तालाई १३.५३ प्रतिशतल नगद लाभांश बाँडेको थियो । त्यस्तै, हिमालयन ८०–२० ले पनि १३.०८७ प्रतिशत नगद लाभांश दिएको थियो भने प्रभु स्मार्ट फण्डले ११.८७ प्रतिशत बाँडेको थियो ।
लगानी गर्दा कति सुरक्षित ?
म्युचुअल फण्डमा गरिएको लगानीबाट बैंकहरुले दिएको बचत स्कीमको भन्दा बढी रिटर्न प्राप्त हुन्छ । तर सबै फण्डको लगानीबाट आफ्नो लगानी सुरक्षित छ भन्ने ग्यारेन्टी भने हुँदैन । जानकारहरुका अनुसार म्युचुअल फण्डमा लगानी गर्नुभन्दा अगाडी विभिन्न कुरामा ध्यान दिनुपर्दछ ।
फण्डको पछिल्लो प्रस्तुती, पोर्टफोलियो, न्याभको अवस्था, खर्चहरु, दायित्व, आम्दानी र रिटर्नको अवस्थाका विषयमा लगानीकर्ताले ध्यान पुर्याउन आवश्यक हुन्छ ।
चालु आवको लागि १० प्रतिशत भन्दा बढी लाभांश दिएका तीनवटा म्युचुअल फण्डको अवस्था नियाल्दा राम्रै देखिन्छ । चालु आवको माघ महिनासम्मको वित्तीय तथ्याङ्कबमोजिम यी तीन फण्डको लगानीको अवस्था, नाफा, न्याभ र खुद सम्पत्ति सूचक बलियो नै देखिन्छ ।
फण्डहरुले लगानीको दायरा बलियो बनाउँदै त्यसबाट आर्जित आम्दानीकै आधारमा लगानीकर्तालाई रिटर्न दिने गर्दछन् । यदि यी तीनवटा फण्डमा लगानी गर्ने हो भने जोखिम कम र मध्यम रिटर्न पाउने सम्भावना बढी रहन्छ ।
