काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । फागुन २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ७६ औं वार्षिक साधारण सभा आह्वान गरेको हो ।
सभा आगामी चैत १९ गते काठमाण्डौको कमलादीमा रहेको नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
सभामा आव २०८०/८१ का लागि हाल कायम रहेको कम्पनीको चुक्तापूँजीको १५ प्रतिशत बोनस सेयर र ०.७९ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल १५.७९ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।
यस्तै, सभामा गत जेठ ४ गते बसेको विशेष साधारण सभाबाट पारित ४० प्रतिशत हकप्रद सेयरलाई बोनस सेयर जारी गरेपश्चात हुने चुक्तापूँजी अनुसार पुनरावलोकन गर्ने, संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भएका खर्चहरु अनुमोदन गर्ने र नियमनकारी निकायहरुबाट प्रबन्धपत्र तथा नियमावलीमा कुनै संशाधेन गर्न निर्देशन भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्तावहरु समेत पारित गरिनेछ ।
सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । यसैगरी लेखापरीक्षकको प्रतिवेदनसहितको २०८१ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल गारी पारित गरिनुका साथै आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।
वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले चैत ७ एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ चैत ६ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।