काठमाण्डौ । हङकङको सेयर बजार ३ वर्षकै उच्च विन्दुमा पुगेको छ । आज एशियाली बजारहरुमध्ये सर्वाधिक वृद्धि हुँदै हङकङको सेयरबजार मापक इन्डेक्स हाङसेङले यो उपलब्धि हासिल गरेको हो ।
चीनको परिदृश्यमा देखिएको सकारात्मक संकेत र हालै प्रकाशित भएको ताजा आँकडा र चिनियाँ सरकारले उपभोग बढाउन गरेको प्रतिबद्धताका कारण लगानीकर्ता उत्साहित हुँदा हङकङको सेयर बजारमा सुधार आएको हो ।
आज हाङसेङ इन्डेक्स २.४६ प्रतिशत अर्थात ५९५ अंकले बढेको छ । यससँगै हाङसेङ इन्डेक्स २४ हजार ७४० विन्दुमा पुगेको छ । पछिल्लो एक वर्षमा हाङसेङ इन्डेक्स २३ प्रतिशतले बढिसेको छ । जुन अन्य मुख्य बजारको तुलनामा बढी हो ।
आज जापानको सेयर बजार समेत बढेको छ । जापानको सेयर बजार आज १.२० प्रतिशतले बढ्दै ३७ हजार ८४५ विन्दुमा पुगेको छ । यस्तै चीनको सेयर बजार सीएसआई३०० इ्रन्डेक्स पनि ०.२७ प्रतिशत र दक्षिण कोरियाको कोस्पी ०.०६३ प्रतिशतले बढेको छ ।
आज भारतका दुवै सेयर बजार मापक इन्डेक्समा पनि हरियाली छाएको छ । आज सेन्सेक्स इन्डेक्स १.२८ प्रतिशत र निफ्टी५० इन्डेक्स १.२५ प्रतिशतले बढेका छन् ।