काठमाण्डौ । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । बैंकको चैत ५ गते बसेको सञ्चालक समितिको बैठकले १२ औं साधारण सभा डाकेको हो ।
उक्त सभा आगामी चैत २७ गते बाग्लुङ नगरपालिकामा रहेको होटल पिस प्यालेसमा बिहान ११ बजेदेखि सुरु हुनेछ । उक्त सभामा गत आवसम्मको वितरणयोग्य सञ्चित मुनाफाबाट ५.७५ प्रतिशत बोनस सेयर र ०.३०२७ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल ६.०५२७ प्रतिशत लाभांशको प्रदान गर्ने निर्णय पारित हुनेछ ।
यस्तै, बोनस सेयर जारीपश्चात १ः१.१०७१ अनुपातमा हकप्रद जारी गर्ने प्रस्ताव समेत पारित हुनेछ । सभामा अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थालाई एक आपसमा गाभ्ने÷गाभिने वा प्राप्तिका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित हुनेछ ।
सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । यसैगरी लेखापरीक्षकको प्रतिवेदनसहितको २०८१ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल गारी पारित गरिनुका साथै आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।
सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुको निर्वाचन गर्ने र सञ्चालकहरुको मासिक पत्रपत्रिका तथा टेलिफोनको सुविधा रकम वृद्धि गर्ने प्रस्ताव समेत सभाबाट पारित हुनेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले आगामी चैत १५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ चैत १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्रै लाभांश प्राप्त गर्न सभामा सहभागी हुन सक्नेछन् ।