काठमाण्डौ । एनसेल फाउन्डेसनले नेपाल प्रिमियर लिग(एनपीएल)का खेलहरुमा हानिएका प्रत्येक चौका बापत विद्यार्थीहरुलाई चारवटा शैक्षिक सामग्री वितरणगर्ने घोषणाअनुसार शैक्षिक सामग्रीहरुको वितरण शुरु गरेको छ ।
यसै कार्यक्रमअन्तर्गत मंगलबार लुम्बिनी प्रदेशका तीन विद्यालयहरुमा ४४६ वटा शैक्षिक सामग्रीहरु वितरण गरिएको छ ।
क्रिकेटदेखि कक्षा कोठासम्मको यो पहलमा क्रिकेटको रोमाञ्चकतालाई शिक्षासँग जोड्दै एनसेलले एनपीएलका खेलहरूमा हानिने प्रत्येक चौकाबापत चारवटा शैक्षिक सामग्री वितरण गर्ने घोषणा गत मंसिरमा गरेको थियो ।
मंगलबार एनसेलका प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभ, नेपाल क्रिकेट संघ(क्यान)का सचिव पारस खड्का, लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसी र एनसेलकी मार्केटिङ्, कम्युनिकेशन एन्ड सस्टेनिबिलिटी अन्तरिम डाईरेक्टर विशाखालक्ष्मी खड्काले कपिलवस्तु नगरपालिका, वडा १० का श्री राष्ट्रिय माध्यामिक विद्यालय र मदरसा वहरुलउलूमका २६० जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेका छन् ।
त्यसैगरी मंगलबार नै एनसेलका चीफ अफ स्टाफ स्टिवन रोड्रिगेजले राप्ति सोनारी गाँउपालिका, वडा ४ मा रहेको श्री बालक शान्ति प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई १८६ शैक्षिक सामाग्री वितरण गरेका छन् ।
“आफ्नो प्रतिबद्धताबमोजिम प्राथमिक तहका विद्यार्थीहरूलाई एनसेल फाउन्डेसनमार्फत विद्यार्थीहरुलाई आवश्यक पर्ने शैक्षिक सामाग्रीको सहयोग प्रदान गर्न पाउँदा खुशी छौं। गुणस्तरीय शिक्षा प्रत्येक बालबालिकाको आधारभूत अधिकार हो । यो पहलले विद्यार्थीहरूलाई शिक्षामा मद्दत गर्ने विश्वास मैले लिएको छु र साथै यसले शैक्षिक स्रोतको अभाव कम गर्न सहयोग गर्दछ,” एनसेलका प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभले भने ।

विद्यार्थीहरुले प्राप्त गरेका प्रत्येक शैक्षिक सामाग्रीमा शैक्षिक सामग्रीहरु जस्तै स्कुलब्याग, कापी, सिसाकलम, इरेजर, कटरलगायतका स्टेसनरी सामान समावेश छन् ।
“यो एक उत्कृष्ट पहल हो, जसमा शिक्षालाई क्रिकेटसँग जोड्दै एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत विद्यार्थीहरूलाई उनीहरूको शिक्षामा सहयोग पुर्याउँछ।

कपिलवस्तुमा आयोजित शैक्षिक सामाग्री वितरण कार्यक्रममा बच्चाहरूसँग समय बिताउदै र उनीहरुसँग खुशी बाँड्दै सहभागी हुन पाउँदा म अत्यन्तै खुशी छु,” क्यानका सचिव पारस खड्काले भने ।
यस पहलअन्तर्गत एनसेल फाउन्डेसनले एनपीएलमा हानिएका ६५३ चौकाबापत कुल २६१२ वटा शैक्षिक सामग्री विद्यार्थीहरुलाई वितरण गर्नेछ ।
कपिलवस्तुका दुई विद्यालयहरूले एनसेल फाउन्डेसनको फेसबुक पेजबाट यस पहलका बारेमा थाहा पाएपछि एनसेल फाउन्डेसनसँग सहयोगको लागि अनुरोध गरेका थिए, भने श्री बालक शान्ति विद्यालयले एनसेलको नेपालगञ्ज कार्यालयमार्फत सहयोगको लागि अनुरोध गरेको थियो।
“हामी यस पहलप्रति प्राप्त व्यापक उत्साहजनक प्रतिक्रियाबाट उत्साहित छौं। शैक्षिक सामग्री वितरणको कामलाई निरन्तरता दिदै क्यानजस्ता सम्बन्धित साझेदारहरूसँगको सहकार्यमा देशका अन्य भागका विद्यार्थीहरूलाई पनि शैक्षिक सामाग्री उपलब्ध गराउनेछौं,” एनसेलकी मार्केटिङ, कम्युनिकेशन एन्ड सस्टेनिबिलिटी अन्तरिम डाईरेक्टर विशाखालक्ष्मी खड्काले भनिन् ।