काठमाण्डौ। निर्जीवन बीमा कम्पनीहरुले २८ अर्ब भन्दा बढी प्रिमियम संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आवको ८ महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरुले २८ अर्ब २ करोड ८८ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका हुन् ।
यो बीमाशुल्क रकम गत आवको सोही अवधिसम्मको तुलनामा ७.१२ प्रतिशत बढी हो । गत आवको ८ महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरुले २६ अर्ब १६ करोड ५० लाख रुपैयाँ प्रिमियम भित्र्याएका थिए ।
सो अवधिसम्म आइपुग्दा सरकारी स्वामित्मा रहेको राष्ट्रिय बीमा कम्पनी, प्रभु इन्स्योरेन्स र युनाइटेड अजोड इन्स्योरेन्स गरी ३ कम्पनीको व्यवसाय गत आवको तुलनामा घटेको छ भने बाँकी ११ कम्पनीको व्यवसाय भने बढेको छ ।
फागुन मसान्तसम्म सर्वाधिक प्रिमियम भित्र्याउनेमा शिखर इन्स्योरेन्स रहेको छ । कम्पनीले ४ अर्ब १ करोड ३९ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ । यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा ७.९४ प्रतिशत बढी हो ।
त्यस्तै, सगरमाथा लुम्बिनीले ३ अर्ब ३२ करोड रुपैयाँ प्रिमिमय भित्र्याएको छ । कम्पनीको यो व्यवसाय गत आवको तुलनामा ९।२४ प्रतिशत बढेको हो । गत आवको सोही अवधिसम्म कम्पनीले ३ अर्ब ४ करोड रुपैयाँ मात्रै प्रिमियम संकलन गरेको थियो ।
यसका साथै सिद्धार्थ प्रिमियरले २ अर्ब ७५ करोड, आइजीआई प्रुडेन्सियले २ अर्ब ३७ करोड, हिमालयन एभरेष्टले २ अर्ब २१ करोड, नेको इन्स्योरेन्सले २ अबै १९ करोड, एनएलजीले १ अर्ब ८५ करोड, दि ओरियन्टलले १ अर्ब ७० करोड, युनाइटेड अजोडले १ अर्ब ५९ करोड, सानिमा जिआइसीले १ अर्ब ५७ करोड, नेपाल इन्स्योरेन्सले १ अर्ब ४० करोड, प्रभु इन्स्योरेन्सले १ अर्ब १६ करोड, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ९ करोड रुपैयाँ र नेशनल इन्स्योरेन्सले ७६ करोड ४७ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।
गत आवको तुलनामा सर्वाधिक व्यवसाय बढाउनेमा भने नेपाल इन्स्योरेन्स रहेको छ । गत आवको ८ महिनासम्ममा ९९ करोड ४७ लाख रुपैयाँ मात्रै प्रिमियम भित्र्याएको नेपाल इन्स्योरेन्सले ४०।९९ प्रतिशतले व्यवसाय बढाएर सो अवधिसम्म १ अर्ब ४० करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।
