काठमाण्डौ । चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा कुल वस्तु निर्यात ५७.२ प्रतिशतले वृद्धि भई १ खर्ब ५८ अर्ब १७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ४.० प्रतिशतले कमी आएको थियो ।
गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ८२.५ प्रतिशत, ८.८ प्रतिशत र २.९ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा भटमासकोतेल, पोलिस्टरको धागो,चिया, पार्टिकल बोर्ड, अलैची लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, जिंक शिट, अदुवा, तयारी पोशाक, जुश लगायतका वस्तुको निर्यात घटेको छ ।
आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा कुल वस्तु आयात ११.२ प्रतिशतले वृद्धि भई ११ खर्ब ४५ अर्ब ५७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा २.७ प्रतिशतले कमी आएको थियो। वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः ७.९ प्रतिशत, १२.५ प्रतिशत र २०.६ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा भटमासको कच्चा तेल, चामल÷धान, यातायातका उपकरण, सवारी साधन तथा स्पेयर पार्टस्, खाने तेल, स्पन्ज आइरन लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, पामको कच्चा तेल, हवाइजहाजको पार्टपुर्जा, लेख्ने तथा छाप्ने कागज, रसायनिक मल लगायतका वस्तुको आयात घटेको छ ।
आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा कुल वस्तु व्यापार घाटा ६.२ प्रतिशतले वृद्धि भई रु.९ खर्ब ८७ अर्ब ३९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा २.५ प्रतिशतले कमी आएको थियो। समीक्षा अवधिमा निर्यात–आयात अनुपात १३.८ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.८ प्रतिशत रहेको थियो।
ज्ञद्द। समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी रु.१ खर्ब १९ अर्ब ४९ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु.९८ अर्ब २९ करोड बराबरको भएको थियो।
वैदेशिक व्यापारको संरचना
वृहत् आर्थिक वर्गीकरण अनुसार समीक्षा अवधिमा भएको कुल निर्यातमा मध्यवर्ती तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ३५.२ प्रतिशत र ६४.० प्रतिशत रहेको छ भने पुँजीगत वस्तुको अनुपात ०.७ प्रतिशत रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा भएको कुल निर्यातमा मध्यवर्ती, पुँजीगत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ५७.० प्रतिशत, ०.२७ प्रतिशत र ४२.८ प्रतिशत रहेको थियो। समीक्षा अवधिमा भएको कुल आयातमा मध्यवर्ती वस्तुको अनुपात ५१.६ प्रतिशत, पुँजीगत वस्तुको अनुपात ८.९ प्रतिशत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात ३९.६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी अनुपातहरु क्रमशः ४९.५ प्रतिशत, ८.९ प्रतिशत र ४१.६ प्रतिशत रहेका थिए ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                